वर्तमान युक्रेन–रसिया सङ्कटको चर्चा युक्रेनमा सन् २०१४ मा अमेरिकाको प्रायोजनमा भएको निर्वाचित सरकारको विरुद्धको सत्ता विप्लवबाट थालनी गर्नु जरुरी छ । यो सङ्कटको उत्पत्ति जो बाइडेनले गरेका थिए । उनी त्यतिखेर ओबामा प्रशासनमा युक्रेनलाई माध्यम बनाएर रूसलाई अस्थिर बनाउने योजनाका लागि तोकिएका व्यक्ति थिए ।
व्यापारिक सञ्चारमाध्यमले सधैँ नै राज्यको लागि सङ्कट बोकेर आएको हुन्छ र जब देश युद्धको सङ्घारमा छ भने त ती सञ्चारमाध्यमभन्दा खतरनाक अरू केही हुँदैनन् । यतिखेर अमेरिकाले युक्रेनका लागि अस्त्रहरूको खेप ओसार्दै छ । निरन्तर अस्त्र सहायताको अर्थ कसैलाई बताइराख्नुपर्दैन । बहाना र कुटिलता ‘निकै सामान्य कारण’ को लागि जरुरी हुने गर्छ । वासिङ्टनको युद्धपिपासु पार्टीबाहेक सबैलाई थाहा छ रूसलाई युद्धको लागि उत्तेजित पार्नु अत्यन्त खतरनाक हुनेछ ।
जो बाइडेनले त्यहीँबाट थालनी गरेका छन्, जहाँ उनले बाराक ओबामाको युक्रेनका भाइसरायको रूपमा काम गर्दा छोडेका थिए । उनी र उनको अक्षम विदेशी नीति टोलीले अहिले रूसले युक्रेनमाथि हमला गर्दै छ भनी आफ्नो बाँकी रहेको कथा खुब मसला लगाएर प्रचार गरिरहेका छन् । वास्तविकतामा अमेरिकाले नै युक्रेनीहरूलाई भड्काएर उनीहरूले जित्न नसक्ने युद्धको लागि उचालिरहेको छ । सन् २०१४ मा अमेरिका प्रायोजित सत्ता विप्लवले त्यहाँ दक्षिणपन्थी गुटलाई सत्तामा पु¥याएको थियो । युक्रेनको पूर्वी भाग डनबास क्षेत्रका अधिकांश जनता रुसी मूलका छन् या उनीहरू नयाँ वा रूसविरोधी सरकारको अंश हुन चाहेका छैनन् र आफ्नो स्वायत्तता चाहेका छन् । त्यसै कारणले त्यस क्षेत्रमा भइरहेको गृहयुद्धमा अहिलेसम्म ३० हजारभन्दा बढीको ज्यान गइसकेको छ ।

अहिले चीन सरकारको सार्वजनिकरूपमा अपमान गरिरहेको र एउटा प्रमुख विमानस्थल पनि नियन्त्रणमा राख्न नसक्ने भएपछि अफगानिस्तानबाट सेना फर्काएको बाइडेनको टीमले विश्वको अर्को आणविक महाशक्ति देश रूसलाई शाब्दिक हमलाको आधारमा तर्साउने खेल सुरु गरेको छ । तिनीहरू युक्रेनलाई खराबभन्दा खराब सुझाव दिएर युद्ध भड्काउन उपयोग गर्न गइरहेका छन्, जसबाट ठूलो विनाश निम्तिन सक्छ ।
सन् २०१४ मा जननिर्वाचित युक्रेनी राष्ट्रपतिविरुद्धको सत्ताविप्लव सजिलै सफल भयो किनभने रुसी राजनीतिज्ञहरूले अमेरिकी र नेटोको दृढताको पराकाष्ठालाई कम्ती मूल्याङ्कन गरे । तर, तिनीहरू चाँडै नै आफ्नो तन्द्राबाट बिउँझे र सुरुदेखि रुसको भागको रूपमा रहेको तथा अधिकांश रूसी मूलका बसोबास गर्ने क्रिमियालाई रूसमा गाभे । युक्रेनसमेत सोभियत सङ्घमा छँदा सन् १९५४ मा मात्र क्रिमियालाई रूसबाट छुट्याएर युक्रेनमा गाभिएको थियो र जनमत सङ्ग्रहमा क्रिमियालाई पुनः रूससित गाभ्ने प्रस्तावको पक्षमा ९७ प्रतिशत मत परेको थियो । अमेरिका र नेटोको प्रायोजनमा युक्रेनमा भएको सत्ताविप्लवको अहिले युक्रेनले महँगो मूल्य चुकाइरहेको छ । पश्चिमा हस्तक्षेपकै कारण युक्रेन अहिले युरोपको सबैभन्दा गरिब देश भएको छ र वाचा गरिएजस्तै त्यसलाई नेटो र युरोपेली सङ्घको सदस्यता पनि दिइएको छैन । त्यो देश अहिले दुई महाशक्तिहरूको बीचमा गोटीचालको प्यादा मात्र बनेको छ ।
अमेरिकाले आफ्नो औजार बाकसबाट सबैखाले हाइब्रिड युद्धकलाका योजनाहरू बाहिर निकालिरहेको छ । महिनौँदेखि अमेरिकी अधिकारीहरूले रुसी सेना सिमानातिर अघि बढिरहेको र युक्रेनमाथि हमला गर्न तयार रहेको दाबी गरेका थिए । तिनीहरू कूटनीतिक क्षेत्रमा लागेका पनि देखिन्छन् तर तिनीहरू आफ्नो स्वार्थपूर्तिका लागि त्यसको प्रयोगमात्र गरिरहेका छन् । रूसले नेटोको अतिक्रमण थप अगाडि नआउने र आफ्नो सिमानाबाट क्षेप्यास्त्रहरू हटाउनुपर्ने माग स्पष्टरूपमा उठाएको छ । फ्रान्सेली र जर्मनहरू मूल्यहीन छन् र वासिङ्टनले जे चाह्यो त्यही गरिरहेका छन् । तिनीहरूले युक्रेनलाई दोस्रो मिन्स्क सम्झौतामा अडिग रहन र टुक्रन लागेको डनबास क्षेत्रलाई स्वायत्तता दिएर आफैमा मिलाइराख्न दबाब दिनुपथ्र्यो । एकपटक युद्ध सुरु भएमा उक्त क्षेत्र सधैँका लागि युक्रेनबाट अलग्गिन बेर लाग्नेछैन ।
यी कुनै पनि खबरबाट अमेरिकी जनतालाई सूचित पारिएको छैन । रिपब्लिकनहरू, डेमोक्रेटहरू र तिनीहरूका साथी व्यापारिक सञ्चारमाध्यमहरूले नियोजितरूपमै अमेरिकी जनतालाई अज्ञानतामा राखिरहेका छन् । आगामी निर्वाचनमा राष्ट्रपति उम्मेदवार बन्न चाहिरहेका रिपब्लिकन सिनेटरहरू अहिले जर्मनीमा रुसीहरूले निर्माण गर्न लागेको नर्ड स्ट्रिम दोस्रो ग्यास पाइपलाइनको काम रोकेकोमा एक अर्कालाई दोषारोपन गरिरहेका छन् । शाब्दिक रूपमा भन्ने हो भने हिउँद आइसकेको छ, युरोपसित रूसको ग्यासको विकल्प छैन । तर, जबसम्म युरोपेलीहरूले ‘अङ्कल साम’ (अमेरिका) को दादागिरीको अनुसरण गरिरहन्छन्, तिनीहरूले केही पनि पाउने छैनन् ।
अमेरिकी सरकारले विगतमा अफ्रिकी राष्ट्र इथियोपियामा जे ग¥यो त्यही पटकथा युक्रेनमा दोहो¥याउने चेष्टा गरिरहेको छ । तिनीहरूले रुसीहरू आइसकेको घोषणा गरेलगत्तै किभस्थित अमेरिकी राजदूतावासका कर्मचारीका परिवारलाई राजधानी किभ छोड्न चेतावनी जारी गरे । अमेरिकी पिछलग्गू राज्यहरू अस्ट्रेलिया र संयुक्त अधिराज्य (बेलायत) ले पनि त्यसैलाई अनुसरण गरे तर युरोपेली सङ्घका अधिकारीहरूले त्यसमा अलिकति हिच्किचाहट देखाए र गुनासो पोख्दै भने, “हामी त्यही कुरा गर्न गइरहेका छैनौँ किनभने हामीलाई कुनै विशेष कारण थाहा छैन ।” अमेरिकी उपनिवेशको कठपुतलीको स्तरमा पुगेको युक्रेनी सरकार समेत त्यसमा खुसी भएन र अमेरिकी ‘खाली गराइ’ लाई अपरिपक्वताको संज्ञा दियो ।
यदि दायाँ हातलाई बायाँ हातले के गरिरहेको छ भनी थाहा हुँदैन भने हामी त्यहाँ ठूलो झूट पाकिरहेको निष्कर्षमा पुग्न सक्छौँ । अमेरिकाले आफ्नो खल्तीबाट दुष्ट योजनाहरू निकालिरहेको छ र अहिले उसका आफ्नै मित्रहरूको पङ्क्तिमा पहिलेभन्दा बढी खतराको लहर अनुभव गरिएको छ । अमेरिकी राष्ट्रपति बाइडेन आफै आफूले सिर्जना गरेको समस्याको एक भाग बन्न गइरहेका छन् । हालै एक पत्रकार सम्मेलनमा उनले रूस युक्रेनमाथि आक्रमण गर्ने सङ्घारमै पुगेको घोषणा गरे तर लगत्तै उनले सानोतिनो हमला मात्र भए त्यति नराम्रो नहुने बताए । उनी आफ्नो सधैँको दोधारको अवस्थाबाट बोलिरहेका थिए वा उनले जे भन्न चाहेका थिए त्यही बोलेका थिए, त्यो भने स्पष्ट थिएन ।
रूसीहरूले जे भनिरहेका छन् त्यसमा तिनीहरू स्पष्ट छन् । अमेरिकी विदेशमन्त्रीका रूपमा एन्टोनी ब्लिन्केन मस्कोदेखि बर्लिन, लन्डन र फेरि मस्कोको भ्रमण गरे र आफ्नो स्वार्थलाई माथि राख्न खोजे तर रुसीहरूले उनको कुरालाई पाइतालामुनि राखिदिए र रुसीहरूलाई दबाबमा पार्ने वा कुनामा चेप्ने दिन गइसकेको स्पष्ट पारिदिए । संयुक्त अधिराज्य जस्तो सबैभन्दा प्रतिबद्ध कठपुतली देशमात्र वासिङ्टनले जे चाहन्छ त्यसको पछाडि लाग्नसक्छ । तिनीहरूले मात्र युक्रेनी सरकार फाल्नका लागि रूसले युक्रेनमाथि हमला गर्न गइरहेको छ भन्ने जस्ता अपुष्ट कथाहरूलाई दोहो¥याउन सक्छन् । युद्धमा जाने निर्णयलाई न्यायोचित ठहर गर्न शासकहरू सधैँ झूटो बहाना प्रयोग गर्छन् र त्यसमाथि अर्को पक्षले त्यस्तो गरेको आरोप लगाउँछन् । त्यसको परिणाम भनेको त्यस्तो स्थिति हो जसबाट थोरै वा धेरै युद्धउत्तेजना सिर्जना हुनेछ ।
अमेरिकी जनताले युद्ध हुँदैन, चाहिँदैन भन्नसक्नुपर्छ । यदि तिनीहरूले अर्को आणविक महाशक्ति राष्ट्रसितको युद्धलाई जनताले समर्थन गर्नेछन् भनी सोचेमा त्यो बाइडेन प्रशासनको ठूलो गल्ती हुनेछ । तिनीहरू अस्त्र–शस्त्रलाई ‘प्राविधिक सहायता’ भन्न सक्छन् तर तिनीहरूले सल्काएको आगोलाई समर्थन गर्ने आशा गर्न मिल्दैन । त्यसपछि तिनीहरूले द्वन्द्वको निम्ति अनेक बनावटी कारण अगाडि सार्न सक्छन् । बाइडेन सबै क्षेत्रमा असफल भइसकेका छन् र नोभेम्बरमा हुने संसदीय निर्वाचनमा उनको पार्टीले हारको सामना गर्दै छ । त्यसैले उनले सोचेका छन् युद्धले मात्र जनताको ध्यान अन्यत्र मोडिनेछ । बाइडेनसित क्षमता र इच्छाशक्ति दुवैको कमी रहेको मान्ने एवम् उनीप्रति विश्वास नभएका अमेरिकी जनता पनि युद्धको उन्मादमा सायद उनकै पार्टीलाई समर्थन गर्न पुग्नेछन् ।
यदि शत्रुता अन्त्य गर्नुछ भने अमेरिकाबाहिर रहेका अमेरिकी सेनालाई फिर्ता बोलाउनुपर्छ । बाइडेनको टोलीले रक्तपिपासु चरित्र प्रदर्शन गरेर गत वर्ष चीनले ताइवानमाथि हमला गर्ने अनुमान प्रचार गर्दै बिताएको थियो । तिनीहरू युक्रेनको स्थितिबाट वाक्कदिक्क भइसकेका हुन् कि त्यहाँ सजिलै युद्ध सुरु गराउन सकिने सोचेका हुन् त्यो भने स्पष्ट भइसकेको छैन । यी मानिसहरूबाट कोही पनि मूर्ख बन्नुहुँदैन । “रूस र चीन निकै घनिष्ठ मित्र हुन्, एउटै मोर्चाभन्दा पनि घनिष्ठ” चिनियाँ राष्ट्रपति सी चिनिफिङले भन्नुभयोे । तिनीहरू नहोऊन् पनि किन ? दुवै देश अमेरिकी आक्रमणबाट आफ्नो प्रतिरक्षा गर्न चाहन्छन् । अमेरिकाका जनतालाई आफ्ना देशका शासकहरूमा भन्दा रुसी र चिनियाँहरूको बुद्धि एवम् अनुभवमा बढी भरोसा छ । यदि अमेरिकाले जे चाह्यो त्यो गर्न दिने हो भने सारा विश्व ठूलो जोखिममा पर्नेछ । यो भनाइ कुनै बढाइचढाइँ गरी भनेको होइन । अमेरिका केही दशक पुरानो आणविक अस्त्रसम्बन्धी सम्झौताबाट धेरै पहिले नै निक्लिसकेको छ र अहिले त्यसले विश्वलाई नै एउटा भयानक विनाशतिर धकेल्न खोजिरहेको छ ।
‘द न्यूयोर्क टाइम्स’ र ‘वासिङ्गटन पोस्ट’ ले त्यही भूमिका निभाउनेछन् जुन भूमिका तिनीहरूले सन् २००४ मा इराकमाथि अमेरिकी हमलाका लागि निभाएका थिए । तिनीहरूले इराकमा सद्दाम हुसेनसँग आमविनाशकारी रासायनिक अस्त्र रहेको झूटलाई विश्वस्त हुने खालको समाचार बनाई छापेका थिए । युद्धपिपासु पार्टीका प्रवक्ताले तिनीहरूलाई जे भन्नेछन् तिनीहरूले त्यही रटान लगाउनेछन् । यदि हामी सञ्चारमाध्यमको गलत सूचनाबाट बच्न चाहन्छौँ भने तिनीहरूलाई विश्वास गर्न छोड्नुपर्छ । तिनीहरूसित युद्धको प्रचार र सम्भावित युद्धबाहेक अरू केही पनि छैन ।
(मार्गरेट किम्बरली एक स्वतन्त्र स्तम्भकार हुन् ।)











