सभामुखसापकोटासँग प्रधानमन्त्री देउवा आक्रोशित

प्रधानमन्त्री शेरबहादुर देउवा सभामुख अग्नीप्रसाद सापकोटाको विकल्प खोज्न सुरु गर्नुभएको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, प्रचण्डको आदेशपालक बनेर संसद बैठक सूचना टाँस्दै स्थगित गर्न थालेपछि प्रधानमन्त्री देउवा सभामुखसँग निकै क्रुद्ध बन्नुभएको हो ।

प्रधानमन्त्री देउवाले संसदमा एमसीसी टेवुल गर्ने बताउनु भएपछि सभामुख सापकोटाले आजका लागि बोलाइएको बैठक सूचना टाँस गरी फागुन २ गतेसम्मका लागि सार्नुभएको छ । सभामुखको यो घोषित राजनीतिलाई प्रधानमन्त्री देउवाले निकै गम्भीर रुपमा लिनुभएको कांग्रेसका नेताहरुले बताएका छन ।

प्रमुख प्रतिपक्षी दल एवं संसदको सवैभन्दा ठूलो पार्टी नेकपा एमालेले एमसीसीको बिषयमा पहिला सत्तारुढ दल एकमत हुनुपर्ने आफ्नो प्रष्ट बटमलाइन सुनाउँदै संसदमा सभामुख सापकोटाले गरेको गल्ती सच्याउने वा पद त्याग गर्ने बिकल्प सुनाएको छ । प्रधानमन्त्री देउवा जसरी भएपनि संसदमा एमसीसी टेबल गर्ने तयारीमा लागेपछि प्रचण्डको निर्देशनअनुसार सभामुख सापकोटाले मंगलवार राती सूचना टाँसेर बैठक नै एक साता पर धकेल्नुभएको छ ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल एमसीसीमा तगारो बनेपछि विकल्प खोजेर संसदबाट एमसीसी पारित गर्ने तयारीमा प्रधानमन्त्री देउवा लाग्नुभएको बालुवाटार स्रोतको भनाई छ ।

आज (बुधबार)का लागि तय भएको प्रतिनिधि सभाको बैठक सभामुख सापकोटाले मंगलबार अबेर सूचना निकालेर फागुन २ गतेसम्मका लागि स्थगित गरेसँगै प्रधानमन्त्री देउवा सभामुख सापकोटाको विकल्प खोज्न परेपनि तयार देखिनु भएको हो ।
आज बस्ने भनिएको कार्यव्यवस्था परामर्श समितिको बैठकमा एमसीसी टेबल गर्न छलफल गर्ने तयारी थियो । संसद स्थगित भएपछि फेरि एक पटक प्रधानमन्त्री देउवाले गठबन्धनको बैठकमा एमसीसीबारे निर्णायक छलफल गर्ने तयारी गर्नुभएको छ ।

फागुन २ भित्र एमसीसीबारे गठबन्धन दलहरुबीच सहमति कायम भए सहजै एमसीसी टेबल हुनेछ । कांग्रेस नेताहरुका अनुसार फागुन दुईभित्र सहमति कायम नभए प्रधानमन्त्री देउवाले अर्को विकल्पका रुपमा सभामुख हटाउने प्रक्रिया सुरु गर्नुहुनेछ ।
सभामुखको विकल्प खोज्न एमाले र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले समेत साथ दिने प्रतिबद्धता प्रधानमन्त्री देउवालाई दिइसकेका छन ।

संसदको ठूलो दल एमालेले आफूले कारबाही गरेको १४ सांसद पदमुक्त भएको सूचना समामुखले टाँस नगरेको जनाउँदै संसद् बैठक अवरुद्धदेखि सर्वदलीय बैठक बहिस्कार गर्दै आएको छ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सभामुख सापकोटालाई हटाउनु पर्ने र आफ्ना पार्टी छाडेर एकीकृत समावादी पार्टीमा गएका सांसदहरुलाई तत्काल हटाउनु पर्ने माग पटक–पटक राख्दै आइरहनुभएको छ ।

नागरिक समाजका अगुवाहरुले समेत मंगलबार विज्ञप्ति निकालेर सभामुख सापकोटाले निष्पक्ष काम नगरेको भन्दै उहाँलाई हटाउन राजनीतिक दलहरुलाई आग्रह गरेका छन ।