फागुन १ देखि विद्यालय खोल्न सरकारलाई सुझाव

कोभिड–१९ सङ्क्रमणदर घटिरहेको अहिलेको अवस्था नबिग्रिए आगामी फागुन १ गतेदेखि विद्यालय खोल्ने सरकारलाई सुझाव दिइएको छ। 

आज (शुक्रबार) सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा गाउँपालिका महासङ्घ, प्याब्सन, एन प्याब्सन, अभिभावक महासङ्घ, शिक्षा मन्त्रालयका प्रतिनिधिलगायतको छलफलमा त्यस्तो सुझाव दिइएकोहो।

छलफलमा सहभागी सबैजसोले पालिकाको निर्णय र निगरानीमा फागुन १ देखि विद्यार्थी तथा शिक्षकको भौतिक उपस्थितिमा विद्यालय खोल्न सुझाएका थिए।

सरकारले पनि आफ्नो क्षेत्रमा रहेको कोरोना सङ्क्रमणको अवस्था हेरेर विद्यालय खोल्ने वा बन्द गर्ने अधिकार पालिकालाई दिने तयारी गरिरहेको जनाइएके छ।  

शिक्षा मन्त्रालयका प्रतिनिधिहरूले फागुन १ देखि विद्यालय खोल्ने गरी तयारी भइरहेको जानकारी गराएका अभिभावक महासङ्घका अध्यक्ष सुप्रभात भण्डारीले बताए। 

यसअघि कोभिड–१९ सङ्कट व्यवस्थापन समन्वय केन्द्र (सिसिएमसिसी) ले माघ मसान्तसम्म भौतिक उपस्थितिमा शैक्षिक संस्था बन्द गर्न सरकारलाई सिफारिस गरेको थियो। त्यसकारण शैक्षिक संस्थाहरू अहिले खुलेका छैनन्।

तथापि केही स्थानीय तहले भने विद्यालय खोल्ने निर्णय नै गरिसकेका छन्। काठमाडौंको गोकर्णेश्वर नगरपालिकाले आफ्नो क्षेत्रभित्रका विद्यालय आगामी आइतबारदेखि खुलाउने भनी सूचना नै जारी गरेको छ।