
कोरोनाभाइरसको सङ्क्रमण नियन्त्रण गर्ने उद्देश्यका साथ सरकारले देशभरि लकडाउन गरे पनि केही दिनयता सङ्घीय राजधानी काठमाडौबाट लामो दूरीका बसहरू विभिन्न गन्तव्यका लागि छुटिरहेको देखिन्छ।
सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाले शुक्रवार र शनिवार गरी १७ वटा बसमार्फत् काठमाडौबाट आफ्ना बासिन्दालाई उनीहरूको थातथलो फर्काएको जनाएको छ।
मोरङको पथरी शनिश्चरे नगरपालिकाले काठमाडौमा बस्दै आएका आफ्ना थुप्रै बासिन्दालाई शनिवार “उनीहरूकै आग्रह”मा करिब आधा दर्जन बसमार्फत् घर पुर्याइदियो।
सिन्धुलीको तीनपाटन गाँउपालिकाले पनि साढे छ सय जनाभन्दा बढीलाई काठमाडौबाट घर फर्काएको जनाएको छ।
‘औपचारिक निर्णय छैन‘
त्यसका लागि उनीहरूले आफ्ना प्रतिनिधि नै काठमाडौ पठाएको पाइयो। तर यी प्रतिनिधि घटना मात्रै हुन्।
खासगरी दिउँसोको समयमा काठमाडौका चावहिल र कोटेश्वर लगायतका स्थानबाट बाहिर जान लागेका बसहरूको ताँती देखेर कतिपय व्यक्तिले आश्चर्य प्रकट गर्ने गरेका छन्।
त्यसको कारण होः यसबीचमा सङ्घीय सरकारले न त लकडाउन खुकुलो पारिएको नै भनेको छ न त बाहिर जान चाहने व्यक्तिहरूलाई जान पाउने छुट दिइएको भनेको छ।
यसबारे बीबीसी न्यूज नेपालीले जिज्ञासा राख्दा गृह मन्त्रालयका प्रवक्ता केदारनाथ शर्माले आइतवार बिहान भने, “त्यसबारे सरकारले कुनै निर्णय गरेको छैन।”
“जनप्रतिनिधिहरूले मान्छे लैजाने काम आफैँ गरिरहनुभएको छ। लकडाउनबारे सरकारले आज केही निर्णय गर्ला।”
सरकारले लम्ब्याएको पछिल्लो लकडाउनको समय आज १२ बजे राति सकिँदैछ।

लकडाउनको स्वरूपमा के कस्ता परिवर्तन ल्याउने भन्ने विषयमा मन्त्रिपरिषद्को आज दिउँसो बस्ने बैठक निर्णय गर्ने अधिकारीहरूले बताएका छन्।
लकडाउनलाई अहिलेकै स्वरूपमा निरन्तरता दिनुपर्छ वा पर्दैन भन्नेबारे विश्वभरि नै मत विभाजित देखिन्छ र नेपाल पनि त्यसबाट अछुतो छैन।
एकथरीले कमजोर स्वास्थ्य प्रणाली भएको नेपालले ठूलो स्तरमा कोरोनाभाइरस सङ्क्रमण फैलिए नियन्त्रण गर्न गाह्रो हुने भएकोले लकडाउन हटाउन हतार गर्न नहुने तर्क गरिरहेका छन्।
अर्कोथरीले लकडाउन अहिलेकै स्वरूपमा जारी रहे गरीब तथा दैनिक ज्यालादारीमा गुजारा गर्नेहरूलाई कठिन हुने भन्दै खुकुलो बनाउनुपर्नेमा जोड दिइरहेका छन्। – गनी अन्सारी बीबीसी