कुनै बेला एमालेमा चरम अन्तरसंघर्ष रहँदा माधव नेपाल पक्षमा उभिएका र पार्टी विभाजनको अबस्थामा पुगेपछि एमालेको मूल धारमैं रहेका सिन्धुली एमालेका नेता खड्गवहादुर खत्री शक्तिशाली बन्दै गएको देखिएको छ ।
माधव नेपाल पक्षमा उभिएका अष्टलक्ष्मी शाक्य, भिम रावल, धनश्याम भुसाल, योगेश भट्टराई, गणेश पहाडीलगायतसँगै एमामैं रहेका खत्रीले सिन्धुली जिल्लामा आफ्ना पक्षका नेता कार्यकर्ताहरुलाई बलियो बनाउँदै लगेको देखिएको छ । जिल्ला समितिमैं नरहेकी मेनुका तिमल्सिना बाग्मती प्रदेश कमिटी सदस्य बनाउने मात्रै होइन, केही समय अगाडि आफ्नो पक्षमा रहेका नेतालाई केन्द्रीय सदस्य बनाउने भुमिकामासमेत खत्री देखिए । गत महिना सकिएको एमालेको कमलामाई नगरपालिका कमिटीको अधिवेशन मात्रै होइन, केही दिन अगाडि सम्पन्न नेपाल राष्ट्रिय शिक्षक संगठनको जिल्ला अधिवेशनमा पनि उनले आफ्ना अनुकुलका कार्यकर्तालाई सेटिङ गरेका छन् ।
चितवनमा सम्पन्न एमालेको दशौं महाधिवेशनमा सिन्धुली जिल्लाका तर्फबाट गणेश पहाडी, मनोजजंग थापा, कमलजंग राई र निरु दर्लामी शिला बनेपछि त्यसलाई अप्रत्यासित भन्नेहरु धेरै थिए । तर महाधिवेशन पूर्वनैं शिला केन्द्रीय सदस्य बन्दैछिन् भन्ने एमाले सिन्धुलीका नेता भन्छन्ः महाधिवेशनले एमालेमा देखिएको गुटहरुलाई विधिवत अन्त्य गरेपछि असन्तुष्टि देखिनु स्वाभाविक छ । विगतमा आफुलाई ओली पक्षका भनेर चिनाउनेहरु केन्द्रीय सदस्यमा नअटाएपछि भने सिन्धुली एमालेमा केही निराशाका अभिव्यक्तिहरु समाजिक सञ्जालमा पोखिएका थिए । तर नेता खत्रीभने आफुले चाहे अनुसारका नेता कार्यकर्ताहरु सेटिङ भएपछि भने अहिले निकै हौसिएका छन् ।
कोही निराश त कोही हौसिएका बेला पूर्व केन्द्रीय सदस्य एवम् सिन्धुली जिल्ला इन्चार्ज विषमलाल अधिकारीले भने राजनैतिक परिपक्कता प्रदर्शन गर्नुभएको छ । उहाँले फेसबुकमा लेख्नुभएको थियोः नेपाली जनताको प्यारो पार्टी नेकपा (एमाले) को दशौं राष्ट्रिय महाधिवेशन लाखौंलाख जनताको उपस्थितिमा उद्घाटन भईसर्बसम्मत नेतृत्व चयन गर्दै समापन भएको छ । यो महाधिवेशनले अझ सुदृढ एमाले, सशक्त एमाले र बहुसंख्यक नेपाली जनताको एमाले बनाउदै छ । यतिबेला आफू नेतृत्वमा पुग्न सकियो कि सकिएन भन्ने चिन्ता लिनु भन्दापनि सशक्त एमालेको गतिलाई अझै तिब्रता दिनु हामी सबैको मुल अभिभारा हो । अतः दशौं राष्ट्रिय महाधिबेशनको मर्म र भावना अनुसार सशक्त एमाले निर्माणको अभियानमा जुट्न आम कार्यकर्ता, सुभेच्छुक तथा समर्थकहरुमा हार्दिक अपिल गर्न चाहन्छु ।
एमाले जिल्ला अध्यक्ष प्रदीप कटुवालले लेख्नुभएको थियोः महाधिवेशनले पार्टीमा नयाँ उर्जा र नयाँ जोश थपिदिएको छ, अब हामीले बलियो र सुदृढ एमाले बनाउनु लाग्नुपर्छ । त्यस्तै पूर्व केन्द्रीय सदस्य एवम् सह इन्चार्ज उमा कोइराला आफ्नो कुरा यसरी लेख्नुहुन्छः दशौ महाधिवेशनमा देश भरिबाट उपस्थित हुनुभएका सम्पुर्ण कमरेडहरु लाई अभिबादन गर्न चाहन्छु । म केन्द्रिय कमिटीमा परे पनि नपरे पनि मैले गरेको निर्णयचैं साह्रै राम्रो गरें भन्ने सोचेको छु । अहिलेको पार्टी अध्यक्षको एजेन्डालाई मैले पालना गरेकी छु । देश राष्ट्र र राष्ट्रियता ठुलो कुरा हो । र हामी भन्दा पछाडीका पिंढिले शुखी नेपाली समृद्ध नेपालको नारा बोकेर हिड्न पाउनुपर्छ । त्यसैले मात्र देश बिकाश हुन्छ । मैले त राम्रो काम गरेको भन्ने ठानेको थिएँ । टेक्दै जाँदा काँढा बिझ्दै जाँदो रहेछ राजनीतिमा । यस्तो हुँदै जान्छ तर जसले राजनीतिमा समर्पण गरेको हुन्छ, जसको परिवारले राजनिति गर्न बलिदान गरेको हुन्छ, कमाएर खाउँ भन्ने मात्र होइन, जनतालाई केही दिउँ भन्ने मान्छेहरू पछि पारिन खोजिँदो रहेछ । काँढाले त घोचिदिदो रहेछ । कोहि फुल बनिदिंदा म काँढा बन्न सक्दिनँ । काँढा बन्नु भनेको राम्रो होइन । सँधै भरी फुल फुलिरहन सकिन्छ । म आफ्नो जिम्मेवारी र कर्तव्यबाट कहिल्यै टाढा भाग्दिनँ ।










