यसरी हुँदैछ नेपाली कांग्रेसको १४ औं महाधिवेशन

नेपाली काँग्रेस पर्सिबाट १४ औं महाधिवेशन शुरु हुँदैछ । भदौ १८ गतेबाट वडा अधिवेशन सुरु गरेको काँग्रेसले मंसिर २० सम्म प्रदेश अधिवेशन पनि सम्पन्न गरेको छ । प्रदेश २ को प्रदेश अधिवेशन महाधिवेशनपछि गर्ने गरी स्थगित गरिएको छ । प्रदेश १, वागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशमा नेतृत्व चयन भएको छ । नेतृत्वमा छनोटका लागि मात्र हुन लागेको काँग्रेसको १४ औं महाधिवेशनमा विचार , नीति तथा कार्यक्रममाथि बहस हुने छैन । काँग्रेसले महाधिवेशनमा नीति तथा कार्यक्रम पनि पेस गर्ने छैन । काँग्रेसले १४ औं महाधिवेशनपछि मात्र नीति महाधिवेशन अलग्गै गर्ने भएको छ ।
काँग्रेस नेताहरु काठमाडौंमा बसेर आफ्नो समूह मात्रै होइन आफ्नो पक्षमा लविङ गरिरहेका छन् । अधिकांश महाधिवेशन प्रतिनिधि पनि काठमाडौं आइसकेको अवस्था छ । काँग्रेसले काठमाडौंको भृकुटीमण्डपमा मंसिर २४ गतेदेखि २७ गतेसम्म महाधिवेशन गर्दैछ । महाधिवेशनका मतदाता (महाधिवेशन प्रतिनिधि) को इन्ट्री भने २१ गतेबाटै सुरु भएको काँग्रेस निर्वाचन समितिले जनाएको छ । अहिलेसम्म काँग्रेसले ४ हजार ३१९ महाधिवेशन प्रतिनिधिको जनाको नाम इन्ट्री गरेको छ । मतदाता नामावली प्रकाशन भने मंसिर २४ गते विहान १० बजे हुने छ । मंसिर २५ गते विहान १० बजेदेखि साँझ पाँच बजेसम्म उम्मेदवारी मनोनयनको कार्यक्रम छ । मनोनयन पत्रमाथि पर्ने दाबी विरोध, दर्ता गर्ने र जाँचबुझ गर्ने समय मंसिर २६ गते विहान ८ बजेदेखि १० बजेसम्म रहेको छ । त्यस उपरको निर्णय मंसिर २६ गते विहान १० बजेदेखि १२ बजेसम्म रहेको छ । उम्मेदवारको नामावली प्रकाशन गर्ने समय सोही दिन दिउँसो १२ बजेदेखि ३ बजेसम्म रहेको छ । मनोनयन फिर्ता लिने समय २६ गते दिउँसो ३ बजेदेखि ४ बजेसम्म राखिएको छ । उम्मेदवारको अन्तिम नामावली प्रकाशन सोही दिन अपरान्ह ५ बजेसम्म छ । मतदानको समय २७ गते विहान ८ बजेबाट सुरु हुने छ ।
मतदानका लागि भृकुटीमण्डप, राष्ट्रिय सभा गृह र पुलिस क्लबमा मतदान स्थल बनाइनेछ । १४ औं महाधिवेशनका लागि २ सय ९३ वटा मतदान बुथ र १ हजार वटा मतपत्र खसाल्ने बक्स राखिने छ । १३ औं महाधिवेशनमा ९ प्रकारका मतपत्र थिए भने यसपटक १२ प्रकारका रहेका छन् । सभापति, पदाधिकारी, खुला केन्द्रीय सदस्य, प्रदेशबाट निर्वाचित हुने सदस्य, महिला, दलित, जनजाति, मधेसी, मुस्लिम, पिछडिएको क्षेत्र, अल्पसंख्यक र अपांङ्गता लागि छुट्टाछुट्टै मतपत्र बनाउनेछ ।
दिउँसो १ बजे महाधिवेशन उद्घाटन हुने कार्यक्रम छ । १४ औं महाधिवेशनमा महामन्त्रीको संगठनात्मक प्रतिवेदन, कोषाध्यक्षको लेखा प्रतिवेदन अनुमोदनका लागि छुट्टै प्रतिवेदन पेस गर्ने छन् । यस्तै यसअघिको महासमिति बैठकपछि महाधिवेशनले पारित गर्ने गरी गरिएका निर्णयसम्बन्धी अनुमोदन प्रतिवेदनहरू पेस गरिने छ । नवनिर्वाचित कार्यसमितिले नीतिका विषयमा छलफल र निर्णय गर्न अर्को नीतिगत महाधिवेशन गर्ने निर्णय काँग्रेस केन्द्रीय कार्यसमितिले यसअघि नै गरिसकेको छ ।
कति पदमा हुन्छ निर्वाचन ?
१४ औं महाधिवेशनले १५ जना पदाधिकारीसहित १३५ सदस्यीय केन्द्रीय कार्यसमिति चयन गर्ने छ । काँग्रेसको १४ औं महाधिवेशनबाट एकजना सभापति, २ उपसभापति २ महामन्त्री र ८ सहमहामन्त्री (क्लस्टर) बाट चयन हुने छन् । काँग्रेसको १४ औं महाधिवेशनबाट एकजना सभापति, २ उपसभापति २ महामन्त्री र ८ सहमहामन्त्री (क्लस्टर) बाट चयन हुने छन् । केन्द्रीय सभापतिले निर्वाचित केन्द्रीय सदस्यमध्येबाट नाम प्रस्ताव गरी निर्वाचित केन्द्रीय कार्यसमितिले निर्वाचित गरेका एक कोषाध्यक्ष हुने व्यवस्था छ । १४ औं महाधिवेशनबाट कम्तिमा दश वर्ष निरन्तर काँग्रेसको क्रियाशील सदस्य भएका केन्द्रीय महाधिवेशन प्रतिनिधिमध्येबाट प्रत्यक्ष ३५ जना निर्वाचित हुनेछ ।
यस्तै महिलाबाट ८ जना, प्रत्येक प्रदेशबाट एक महिलासहित ३, दलितबाट ४ महिलासहित ९ जना, आदिवासी जनजातीबाट ७ महिलासहित १५ जना, खसआर्यबाट ६ महिलासहित १३ जना, मधेशीबाट ४ महिलासहित ९ जना, थारुबाट २ महिलासहित ४ जना, मुस्लिमबाट १ महिलासहित ३ जना र पिछडिएको क्षेत्रबाट १ जना केन्द्रीय सदस्य चुनिने छन् ।
महाधिवेशनमा अल्पसंख्यक र अपाङ्गताबाट एक एक निर्वाचित हुने छन् भने केन्द्रीय सभापतिले कार्यसमितिमा एक तिहाई महिला, समावेशी सिद्धान्त र अपाङ्गता वा अल्पसंख्यक वा पिछडिएको क्षेत्रको प्रतिनिधित्वलाई ध्यानमा राखी ३३ जना सदस्य मनोनित गर्नेछ । १४ औं महाधिवेशनबाट निर्वाचित हुने १३५ र सभापतिले मनोनित गर्ने ३३ गरी काँग्रेसको केन्द्रीय कार्यसमिति १६८ सदस्यीय हुने छ ।
यो समाचार आजको सन्देश जनप्रिय सातहिकले लेखेको छ ।