मोहन वैद्य नेतृत्वको नेकपा माओवादी क्रान्तिकारीका नेता सिपी गजुरेलले एमसीसी कुनै पनि हालतमा पास गर्न नदिने बताएका छन्।
बुधबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै नेता गजुरेलले आफूहरु जनताको साथमा रहेकोले एमसीसी कुनै पनि हालतमा पास नहुने बताएका हुन्। उनले एमसीसी सच्चा देशभक्त र विदेशी दलालको बारेमा पर्दाफास गर्ने रेखा हुने पनि बताए।
उनले हरेक नागरिकहरुले अब देशभक्त भएर उभिने वा विदेशी दलालको साथ दिने भन्ने कुरा अत्मसात गर्नुपर्ने बेला आएको बताए। नेता गजुरेलले अहिले एमसीसीको कारण जनतामा आक्रोश पैदा भएको र जनताको आक्रोशलाई क्रान्तिमा बदल्नुपर्ने बताए।
उनले एमसीसी भनेको अधिकांश नेपालीहरुले चाहेको विषय नभएकोले क्रान्तिकारी भएको नाताले यसमा हस्तक्षेप गर्नुपरेको पनि स्पष्ट पारे।
नेता गजुरेलले भने, ‘शक्ति सन्तुलनमा पश्चगामी शक्ति हाबी भयो भने यो भन्दा पनि पश्चगमन पनि हुने हो कि? अहिले एउटा आशंका, चिन्ता मानिसहरुलाई त्यो पनि छ। अहिलेको शक्ति सन्तुलनमा क्रान्तिकारी, अग्रगामी शक्तिहरु बलियो भयो भने त्यो परिवर्तन अग्रगामी हुनसक्छ। अर्को नयाँ खालको, अगाडि बढ्ने खालको परिवर्तन हुनसक्छ। त्यसकारण हामी त्यसको निम्ति शतर्क र तयार रहनु आवश्यक छ। त्यो बिस्फोट हुनसक्ने सम्भावना छ। हामी क्रान्तिकारीको हैसियतले त्यसमा हस्तक्षेप गर्नुपर्ने हाम्रो कर्तव्य हो। त्योबाट हामी पछि हट्न सक्दैनौँ। यो जुन एउटा ध्रुविकरण भएको छ, जनआक्रोश छ, जनअसन्तोष छ। यो विस्फोट भयो भने त्यसलाई क्रान्तिमा बदल्नलाई, क्रान्तिकारी आन्दोलनमा अघि बढ्नका लागि हरेक प्रकारका सम्भावनालाई प्रयोग गर्न जरुरी छ। अब हामी प्राक्टिसमा हेर्ने हो को देशभक्त, को विदेशी दलाल? अब सबैलाई एउटा रेखा कोरिदिने भयो। किनभने जानेर, बुझेर कसैले पनि गद्दार हुँ भन्दैन। म अमेरिका, भारतको दलाल हुँ भनेर संसारमा कसैले पनि भन्दैन।’
उनले थपे, ‘तर सच्चा देशभक्त हो कि होइन अब टेस्ट हुँदैछ। कुन सुन, कुन पित्तल भन्ने कुराको कसी लाग्दैछ, ठूलो रेखा कोरिँदैछ। त्यसकारण ध्रुविकरण हुँदैछ। अब हरेक नागरिकले कुन किस्तामा उभिने भनेर आफ्नो परिचय दिनुपर्छ। यो अहिलेको आवश्यकता हो। त्यसकारण यो स्थिति अहिले राजनीतिमा अस्थिरता ल्याएको छ। एमसीसी देशको लागि एउटा ध्रुविकरण हो। यो चाहेर आएको होइन। एमसीसीले ध्रुविकरण ल्याइदिएको छ, यो आशंका र असन्तोषलाई स्पष्ट पार्दै फेरि क्रान्तिकारी आन्दोलनद्वारा नै जनतलाई चेतना दिँदै अघि बढ्नुपर्छ। आँखा चिम्लिएर नभइ तथ्यबाट सत्य पत्ता लगाउने हाम्रो सिद्धान्त हो। यसलाई पास गर्न हामी दिँदैनौँ।’