विश्वभर कोरोना भाइरसका कारण ज्यान गुमाउनेको संख्या २ लाख नाध्यो

कोरोना भाइरसको विश्वव्यापी महामारीका कारण विश्वभर ज्यान गुमाउनेको संख्या दुई लाख नाघेको छ।

जोन हप्किन्स विश्व विद्यालयको कोरोना भाइरस स्रोत केन्द्रका अनुसार अहिलेसम्म विश्वमा नोवेल कोरोना भाइरसको संक्रमणबाट कोभिड–१९ का कारण मृत्यु हुनेको संख्या कम्तिमा दुई लाख दुई हजार ४५५ पुगेको छ । विश्वभर २८ लाख ९२ हजार भन्दा बढीमा संक्रमण पुष्टि भएको छ।

महामारीका कारण सबैभन्दा बढी प्रभावित भएको अमेरिकामा ज्यान गुमाउनेको संख्या ५० हजार भन्दा माथि छ।

अहिलेसम्म अमेरिकामा कम्तिमा ५३ हजार ५११ जनाको ज्यान गएको पुष्टि भएको छ । यस्तै संक्रमितको संख्या पनि अमेरिकामा सबैभन्दा धेरै ९ लाख ३६ हजार भन्दा माथि पुगेको छ ।

गएको डिसेम्बर तेस्रो हप्ता चीनको वुहान शहरबाट सुरु भएको नोवेल कोरोना भाइरसका कारण जनवरीको दोस्रो हप्ता पहिलो व्यक्तिको निधन भएको थियो ।

चीनको सरकारी सञ्चारमाध्यमले कोरोना भाइरसका कारण पहिलो व्यक्तिको मृत्यु जनवरी ११ मा भएको पुष्टि गरेको थियो । त्यसयता विश्वका २१० देश तथा प्रशासित क्षेत्रमा संक्रमण फैलिएको छ ।

विश्वका पाँच देशमा २० हजार भन्दा बढी मानिसको कोभिड–१९ बाट मृत्यु भएको छ । बढी प्रभावित हुने देशको सूचिमा दोस्रो स्थानमा रहेको इटालीमा अहिलेसम्म २६ हजार ३८४ जनाको निधन भएको छ । त्यहाँ संक्रमितको संख्या एक लाख ९५ हजार भन्दा बढी छ । स्पेनमा ज्यान गुमाउनेको संख्या २२ हजार ९०२ तथा संक्रमित दुई लाख २३ हजार भन्दा बढी छन् ।

फ्रान्समा २२ हजार ६४८ को ज्यान गएको छ भने एक लाख ६१ हजार भन्दा बढी संक्रमित छ । यसैगरी बेलायतमा २० हजार ३८१ को निधन भएको छ र संक्रमितको संख्या एक लाख ४९ हजार भन्दा बढी पुगे वल्र्ड मिटरले लेखेको छ ।