महाकालीपारि २ हजार बढी नेपाली

एक महिनादेखि महाकाली पारि करिब २ हजार बढी नेपाली अलपत्र परेका छन् । संघीय सरकारले यस विषयमा ठोस निर्णय नगर्दा अलपत्र नेपालीहरुको उद्धारमा ढिलाइ भएको छ ।

रुपन्देहीका नाकाबाट नेपालीहरुको उद्धार भए पनि कैलाली, कञ्चनपुर, बैतडी र दार्चुलापारि रहेका दुई हजार बढी नेपालीहरुको भने उद्धार हुन सकेको छैन ।

सम्बन्धित जिल्ला प्रशासन कार्यालयहरुले उद्धारको तयारी गरेका छन् । सम्बन्धित स्थानीय तहले पनि गाडीको व्यवस्थापन गर्नेदेखि अन्य तयारी गरिसकेको बताएका छन् । तर, गृह मन्त्रालयले निर्देशन नदिँदा उद्धार कार्यमा भने ढिलाइ भइरहेको छ ।

अहिले कैलाली, कञ्चनपुर, बैतडी र दार्चुलाका प्रमुख जिल्ला अधिकारीहरु गृह मन्त्रालयको निर्देशन पर्खिरहेका छन् ।

मन्त्रालयले निर्णय गर्न ढिलाइ गर्दा दुई हजार बढी नेपाली एक महिनादेखि सीमापारि अलपत्र परेका हुन् ।

दार्चुलापारि धार्चुलामा सबैभन्दा बढी नेपाली अलपत्र परेका छन् । हजार भन्दा बढी नेपालीहरुलाई बिभिन्न ६ वटा क्वारेन्टाइनमा राखिएको छ । क्वारेन्टाइनमा बसेको महिनादिनसम्म पनि गृह मन्त्रालयबाट निर्देशन नआउदा उनीहरुलाई नेपाल ल्याउन नसकिएको दार्चुलाका प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले जानकारी दिए ।

‘हामीले हाम्रो तयारी गरेका छौँ । तर, गृह मन्त्रालयबाट निर्देशन आउन बाँकी छ,’ उनले भने, ‘मन्त्रालयले निर्देशन दिएलगत्तै उनीहरुको उद्धार हुन्छ ।’

दार्चुलाका बिभिन्न स्थानीय तहसँग तयारीको लागि समन्वयसमेत भइरहेको उनले बताए ।

बैतडीपारि पनि करिब एक हजारभन्दा बढी नेपाली अलपत्र परेका छन् । अझैसम्म मन्त्रालयको निर्देशन नआउँदा उद्धार गर्न नसकिएको प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलले बताए ।

‘छलफल थुप्रै भएको छ । तर निर्देशन आएको छैन । निर्णय आउनासाथ हामी उद्धार गर्छौं,’ उनले भने ।

झुलाघाट नाकापारि ८३७ जना बैतडीका नागरिक मात्रै अलपत्र परेको प्रजिअ पौडेलले जानकारी दिए । बैतडीसँगै अन्य जिल्लाका पनि नागरिक रहेको उनले जानकारी दिए । उनीहरुलाई सात वटा क्वारेन्टाइनमा राखिएको पैडेलले बताए ।

कञ्चनपुरको सीमापारि पनि २५१ जना नेपाली अलपत्र परेका छन् । उनीहरुलाई ७ वटा क्वारेन्टाइनमा राखिएको छ । उनीहरुको उद्धारका लागि कञ्चनपुरको प्रशासन कार्यालयले तयारी गरेको छ । अहिले प्रमुख जिल्ला अधिकारी नुर खतिवडा गृहको निर्देशन कुरेर बसेका छन् ।

अलपत्र परेका नेपालीहरुका विषयमा गृह मन्त्रालयबाट कुनै निर्देशन नआएको उनले बताए ।

‘कुरा भइरहेको छ । तर, फाइनल भएको छैन,’ उनले भने, ‘हिँजोसम्म ल्याउने भन्ने कुरा भएको थियो । आज त्यस्तो कुनै निर्देशन आएको छैन ।’

गड्डाचौकीपारि अलपत्र परेका नेपालीहरुलाई महेन्द्रनगरस्थित बैद्यनाथ बहुमुखी क्याम्पसमा राखेर स्वास्थ्य परीक्षण गर्ने तयारी समेत गरिएको उनले जानकारी दिए ।