कञ्चनपुरका वडाध्यक्ष देवकोटामाथिको साङ्घातिक आक्रणमा सलग्नलाई प्रहरीकै संरक्षण !

काठमाडौं: कञ्चनपुर जिल्लाको भीमदत्त नगरपालिका १८ का वडाध्यक्ष रविन्द्र देवकोटाको ज्यान लिनेगरी गरिएको आक्रमणमा संलग्नहरुलाई कञ्चनपुर प्रहरीले संरक्षण गरेको सरोकारवालाहरुले बताउन थालेका छन् ।
गएको असार २७ गते एमालेको भातृ संगठन राष्ट्रिय युवा संघ कञ्चनपुरको १० औं अधिवेशनमा निर्वाचन मण्डलका सदस्य बनेका देवकोटामाथि एमाले पार्टी कार्यालयमै ज्यान लिने उदेश्यले आक्रमण गरिएको थियो । घटनामा संलग्न एमाले जिल्ला कमिटी सदस्यलाई साधारण सदस्यतासमेत नरहनेगरी पार्टीबाट निश्कासन गरिसकेका बेला कञ्चनपुर प्रहरीले अपराधमा संलग्नलाई पक्राउगरी कानूनी कारबाहीको प्रक्रिया अगाडि बढाउनुको साटो उल्टै संरक्षण दिएर राखेको एमालेका कञ्चनपुरका नेताहरुले बताउन थालेकाछन् ।
काठमाडौस्थित हेल्पिङ हेण्ड्स अस्पताल चाबहिलमा उपचार गराइरहेका देवकोटाको स्वास्थ्यमा सुधार आउन अझै केही समय लाग्ने चिकित्सकहरुले बताएका छन् । अस्पतालको शैथ्याबाट देवकोटाले मसिनो स्वरमा भनेः मेरो ज्यान लिनेगरी गरिएको आक्रमणमा प्रहरीले संलग्नहरुलाई पक्राउ गरेर कारबाही नगर्नुले सन्देह पैदा गराएको छ । निर्मला बलात्कार र हत्या काण्डमा संलग्नलाई प्रहरीलेनैं संरक्षण गरेको विगतको अनुभवले अहिले पनि प्रहरी आक्रमणकारीलाई कतै जोगाउन खोजिरहेको त छैन ? भन्ने गंभीर प्रश्न उठाएको उनले बताए ।
स्थानीय प्रहरी प्रशासनले अपराधमा संलग्नलाई दण्डित गरेर आम जनसमुदायमा राम्रो सन्देश दिन्छ भन्ने विश्वासमा रहेको बताउँदै देवकोटाले कञ्चनपुरका जनप्रतिनिधीहरु असुरक्षित हुन थालेको बताए ।
वडाध्यक्ष देवकोटालाई प्रहरीले पक्राउ गर्न ढिलाई गरेको भन्दै एमाले सम्बद्ध अखिल नेपाल महिला संघले ज्ञापनपत्र बुझाएको छ । महिलाहरुको टोलीले प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीलाई ज्ञापनपत्र बुझाउँदै घटनामा संलग्न भएकाहरुलाई तत्कालै पक्राउगरी कानूनी कारबाही गर्न माग गरेको हो ।
वडाध्यक्ष देवकोटाकी आमा कमलाले आफ्नो छोराको ज्यानलिनगरी गरिएको आक्रमणका संलग्न आठ जनाका विरुद्ध ज्यान मार्ने उद्योगमा प्रहरी कार्यालय कञ्चनपुरमा किटानी जाहेरी दर्ता गराएकी थिइन् तर प्रहरी उपरिक्षक कमल थापाले संलग्नहरुलाई पक्राउ गरेर कारबाही प्रक्रिया अगाडि बढाउन चासो नदेखाएको स्थानीयको आरोप छ ।
यसैबीच प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले भने आक्रमणमा संलग्नलाई कानूनी कारबाही गरेरै छाड्ने अनेमसंघको टोलीलाई बताएका थिए ।
यस अगाडि नेकपा एमाले कञ्चनपुरले घटनामा संलग्नलाई पक्राउगरी कारबाही गर्नका लागि सहज बनाउने उदेश्यले ७ जनालाई पार्टी सदस्य नरहने गरी निष्कासन गरेको थियो । एमाले कञ्चनपुरका कार्यबहाक अध्यक्ष लक्ष्मी बुढाले सार्वजनिक गरेको विज्ञप्तीमा जिल्ला कमिटी सदस्य कमल रोकाया, रमेश भट्ट, राधाकृष्ण जोशी र केशव चन्द, प्रबिन बोगटी, रोहित कुँवर र नविन चन्दलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी निस्कासित गरेकी थिइन् ।
एमालेले कुटपिटलाई ज्यान लिनेगरी गरिएको बर्बर आक्रमणको संज्ञा दिँदै आक्रमणमा संलग्नलाई कानून बमोजिम कारवाही गर्न प्रशासनलाई आग्रह गरेको छ ।
युवासंघको बन्दसत्र चलिरहेका बेला निर्वाचन समितिको निर्णय अनुसार निर्वाचन कार्यतालिका टाँस गर्ने क्रममा देवकोटामाथि क्रुर आक्रमण भएको थियो ।

सन्देश जनप्रिय साप्ताहिकबाट

May be an image of text