चार अर्ब डलरको भारतीय ‘जी’ मिडिया कम्पनीमा स्वामित्व विवाद

भारतीय कर्पोरेट लडाईंमा सुभाष चन्द्रा नौलो नाम होइन। सन् १९९८ मा तत्कालीन साझेदार रुपर्ट मुर्डकले उनीहरुको ५ वर्षे भारतीय टेलिभिजन भेन्चरलाई आफ्नो पकडमा लिने कोशिस गरे ।

तर त्यसबेला कम्पनीका संस्थापक सुभाष चन्द्राले तत्काल बडो चतुर्याईपूर्वक कम्पनी आफ्नो नियन्त्रणमा लिए जुन कम्पनी आज ‘जी इन्टरटेनमेन्ट इन्टरप्राइजेज लिमिटेड’को नामले चिनिन्छ।

त्यसको दुई दशकभन्दा बढी समयपछि भारतको सबैभन्दा ठूलो शेयर कारोबार हुने इन्टरटेन्टमेन्ट नेटवर्क फेरि जटिल विवादको केन्द्र बनेको छ।  सुभाष चन्द्रा र उनका सहयोगीहरु विरुद्ध एटलान्टा बेस्ड डेभलपिङ मार्केट्स् फण्ड ‘इन्भेस्को’बीच मतभेद उत्पन्न भएको छ। इन्भेस्को जी को सबैभन्दा ठूलो शेयरहोल्डर कम्पनी हो जसको कम्पनीमा १८ प्रतिशत शेयर रहेको छ।

यसअघिको लडाई जितेपनि ७० वर्षे टाइकुन चन्द्राले यो पटक भने कम्पनीमाथिको नियन्त्रण गुमाउने जोखिम पनि उत्तिकै रहेको बताइएको छ।

लामो समयदेखि दुई पक्षबीच असमदारी चलिरहेको थियो। इन्भेस्को जीको संचालन प्रक्रियासँग चित्त बुझाइरहेको थिएन। उसले सुभाषका छोरा पुनित गोयन्कालाई जी को सिइओबाट हटाउन चाहिरहेको छ। उसले बोर्डका संचालकहरु परिवर्तन गर्न चाहिरहेको छ र नयाँ स्वामित्वका लागि पहल गरिरहेको छ।

यसबीचमा कम्पनीको बजार मूल्य पनि घटिरहेको छ। सन् २०१८ को उच्च रेकर्डपछि हाल जी को शेयर ५० प्रतिशतले घटिसकेको छ।

सुभाष चन्द्राको परिवारको जी इन्टरटेनमेन्टमा ४ प्रतिशतभन्दा कम शेयर छ। उनी अध्यक्ष रहेको एस्सेल ग्रुप (जसअन्तर्गत नै जी इन्टरटेन्टमेन्ट इन्टरप्राइजेज रहेको छ) ले तिर्नुपर्ने ऋणका लागि जीको शेयर दिन गरेको प्रतिबद्धताका कारण उनको शेयर ४ प्रतिशतभन्दा कममा सिमित भएको हो। हाल उनका छोरा जी इन्टरटेनमेन्टका सिइओका रुपमा कार्यरत छन् र भारतमा मिडिया मुगल मानिएका सुभाष चन्द्रा कसरी हुन्छ कम्पनीको शेयर हिस्सा बढाउन चाहिरहेका छन्।

हाल जीको भारतीय मिडिया तथा इन्टरटेनमेन्ट बजारमा १७ प्रतिशत हिस्सा रहेको मानिन्छ। यसले ६० करोडभन्दा बढी मानिसमा आफ्नो पहुँच पुर्याएको छ। जी सँग स्थानीय भाषाका प्रशस्तै कन्टेन्ट संग्रहमा छन् भने उसले ग्लोबल स्ट्रिमिङबाट पनि लोभलाग्दो सम्पत्ति आर्जन गरिरहेको छ। जीको स्ट्रिमिङ प्लाटफर्म भारतका अन्य मिडिया प्लेयरको भन्दा निकै बढी छ र जीलाई भारतमा स्ट्रिमिङ प्लाटफर्मको लिडर नै मानिन्छ किनभने उसँग मासिक ७ करोड ३० लाख मासिक एक्टिभ युजर्स छन्। उसले हाल निकै हिट रहेको दक्षिण कोरियाली सिरिज ‘स्क्विड गेम’ समेत स्ट्रिमिङ गरिरहेको छ।

यतिबेला ग्लोबल जायन्टहरु जस्तै नेटफ्लिक्स, अमेजन डट कम र डिज्नेले भारतमा आफ्नो उपस्थिती र पकड चाहिरहेका छन्  जसका कारण जी माथि धेरै कम्पनीहरुको आँखा पर्नु स्वाभाविकै देखिन्छ।

‘जी कुनै पनि भारतीय वा बिदेशी लगानीकर्ताका लागि ब्यापारको उत्कृष्ट सुरुवात हो।’- मिडिया कन्सल्टेन्सी प्रोभोकेटर एडभाइजरीका सिइओ परितोष जोशी भन्छन्-‘रुपर्ड मुर्डकले ३० वर्ष अघि नै जी मा संभावना देखेर सुभाष चन्द्रासँग ब्यापार साझेदार बने। र तत्कालीन अवस्थामा भारतमा टेलिभिजन भएका घरको संख्या जम्मा ५० लाख थियो। हाल यो २० करोड भन्दा माथि पुगिसकेको छ।’

भारतको मनोरञ्जन बजार सन् २०२३ सम्ममा ३० प्रतिशतले बृद्धि भइ २९ अर्ब डलर पुग्ने अर्न्स्ट एण्ड योङको अनुमान छ। यसले जी जस्ता भारतीय टेलिभिजन कम्पनीहरुलाई अझ बढी लोभलाग्दो र नयाँ आयाम दिएको छ।

वाल्ट डिज्ने कम्पनीको भारतमा असाथ्यै सानो उपस्थिती थियो तर उसले सन् २०१९ मा मुर्डकको स्थानीय स्टार च्यानलको २७ प्रतिशत शेयर किनेपछि रातारात उसको स्थिती तगडा बन्यो।

फेरि हालको अवस्थामा जी को शेयर मूल्य पहिले भन्दा कम पनि भएको छ। सन् २०१८ मा यसको बजार मूल्य उच्च रहेपनि हाल आधा नै घटेर ४ अर्ब डलर (करिब चार खर्ब ८० अर्ब रुपैयाँ) मा आइपुगेको छ।

हाल चन्द्रा समूह र इन्भेस्कोबीच वाक युद्ध चलिरहेको छ। चन्द्राले इन्भेस्कोमाथि आफूले स्थापना गरेको साम्राज्यलाई टेकओभर गर्नकालागि ठूलै योजना बनाइरहेको आरोप लगाइरहेका छन् भने इन्भेष्कोले शेयरहोल्डरहरुको बैठक बोलाउन माग गरिरहेको छ।

शेयरहोल्डरहरुको बैठकबाट सहमति जुटाई चन्द्राको छोरालाई बोर्ड र कम्पनीको सिइओ पदबाट निकाल्न चाहिरहेको छ। चन्द्रालाई लक्षित गर्दै’कम्पनीका संस्थापकहरु साधारण शेयरधनीको पैसाबाट आफूहरुलाई मात्र धनी बनाइरहेको’ आरोप इन्भेस्कोले लगाएको छ।

इन्भेष्कोले आह्वान गरेको शेयरधनीहरुको बैठकलाई रोक्न माग गर्दै जी ले मुम्बई अदालतमा रिट निवेदन दायर गरेको छ। आगामी मंगलबार यसको सुनुवाई हुँदैछ।

हाल दुई पक्षबीचको यो परिस्थिती विशुद्ध स्वामित्व तथा कम्पनीमाथिको नियन्त्रणको लडाईका रुपमा देखिएको छ।

यसअघि कम्पनीलाई एसियाकै धनाढ्य मुकेश अम्बानीलाई बेच्ने इन्भेष्कोको प्रयास असफल भएको थियो।

तर गत सेप्टेम्बर २२ मा चन्द्राले इन्भेष्कोलाई काउन्टर दिँदै जीले सोनी ग्रुप कर्पोरेसनसँग फ्रेन्ड्ली मर्जर तर्फ प्रवेश गरेको घोषणा गरे। ९० दिनको अवधि तय गर्दै कम्पनीले सोनीसँगको डिलका लागि बाध्यकारी नहुने गरी सर्तहरु अघि सारेको छ। यसबाट चन्द्रा परिवारलाई आफ्नो शेयर २० प्रतिशतसम्म बढाउने अवसर मिल्नेछ र यसले चन्द्रालाई इन्भेष्कोको उद्देश्य पूरा हुन नदिने बाटो तर्फ पनि लैजान्छ।

जीले सोनीसँगको मर्जरलाई नै ‘बेस्ट डिल’का रुपमा लिएको भन्दै  अन्य कम्पनीहरुका लागि पनि उसले मर्जरको अफरको ढोका खुल्ला नै रहेको जनाएको छ।

गत वर्ष नोभेम्बरमा नै जी इन्टरटेन्टमेन्ट इन्टरप्राइजेजले आफ्नो कम्पनीको ५० प्रतिशतसम्म शेयर रणनीतिक साझेदारलाई बेच्ने घोषणा गरेको थियो।

गत मार्चमा जी सँग मर्जरका लागि छलफल भएको रिलायन्सले पुष्टि गरेको छ। तर बिबिध बिषयमा मतभिन्नता उत्पन्न हुँदा यस सम्झौताका लागि अघि नबढ्ने निर्णय गरेको पनि रिलायन्सले स्पष्ट पारेको छ।

‘मर्जरमा जानका लागि जी लाई ७५ प्रतिशत शेयरधनीको सहमति आवश्यक पर्छ। सहमति जुटाउनु आफैंमा अफ्ठेरो कुरा हो’-। स्वतन्त्र विश्लेषक नितिन मंगलले भने-‘आगामी बाटो जी का लागि पक्कै पनि सहज हुनेछैन।’

यदि सोनी र जी बीच अन्तिम कारोबारका लागि सम्झौता भएमा यो जापानी जायन्ट सोनीका लागि असाध्यै ठूलो अवसर हुनजान्छ। यसले भारतमा सोनीको बजारलाई दोब्बर बनाएर २५ प्रतिशत पुर्याउने अनुमान छ।

यसले सोनीको लोकल स्ट्रिमिङ सर्भिस सोनीलाइभको बजार पनि ह्वात्तै बढ्ने अपेक्षा गरिएको छ।

तर यो परिदृश्यमा सोनीलाई नै स्पष्ट बिजेता घोषणा गर्नु अलि चाँडो हुनजान्छ। रिलायन्स सैद्धान्तिक रुपमा फेरि यो दौडमा प्रवेश गर्ने संभावना पनि उत्तिकै छ किनभने यदि इन्भेष्कोले जीको संचालक समितिलाई पुनर्गठन गर्न सक्यो र नयाँ मर्जर प्रस्ताव लैजान सक्यो भने रिलायन्स फेरि यस दौडमा फर्किने संभावना उत्तिकै बलियो देखिन्छ।

मुकेश अम्बानी, जसको टेक र रिटेल भेन्चरहरुमा २७ अर्ब डलरको लगानी भैसकेको छ उसको मनोरञ्जन र स्ट्रिमिङको दुनियाँमा पनि प्रवेशको लालसा उत्तिकै रहेको देखिन्छ।

यदि इन्भेस्कोले जी को बोर्डलाई पुनर्गठन गर्न सक्यो भने बोर्डले लिलाम प्रक्रिया अघि बढाएर उच्चतम रकम कबोल गर्नेलाई फेरि पनि छनौट गर्ने बाटो खुला नै छ। नयाँदिल्ली स्थित ल फर्म सराफ एण्ड पार्टनर्सका संचालक मोहित सराफ भन्छन्-‘सोनीसँग होस् वा रिलायन्ससँग जीको साझेदारीले उसलाई बजार हिस्सा बढाउने अवसर नै दिन्छ।’

सुभाष चन्द्रालाई कर्पोरेट दुनियाँमा सिर्जनात्मक डिलका लागि पोख्त व्यक्ति मानिन्छ। सन् १९८० को दशकमा सोभियत युनियनसँग चामलको निर्यात ब्यापार गरेका चन्द्राले त्यसयता बिभिन्न क्षेत्रमा आफूलाई अब्बल सावित गर्दै अघि बढे।  उसले आफ्नो ब्यापारमा विविधिकरण गर्दै प्याकेजिङ म्याटेलियल्स, मुम्बई बाहिर एम्युजमेन्ट पार्क संचालन गर्नुका साथै भारतीय संचारमाध्यममा सरकारी एकाधिकार तोडिने बित्तिकै  जी मार्फत मिडियामा प्रवेश गरेका थिए। उनैले सन् १९९० को दशकको सुरुवातमै भारतका घरघरमा केबल टेलिजभिजन पुर्याएका थिए।

यसअघि जी लाई पकडमा राख्नका लागि मुर्डकसँगको लडाईमा चन्द्राको हात माथि पर्यो। तत्कालीन अवस्थामा जी भेन्चर उसले ल्याएको हिन्दी सोप अपेरा र बलिउड कन्टेन्टका कारण राम्रो ब्यापार गरिरहेको थियो। तर यसपटक चन्द्रालाई आफूले खडा गरेको साम्राज्यलाई जोगाउनका लागि मात्र नभई कम्पनीलाईबजारमा देखिएकोजोखिमबाट पनि माथि उकास्न समेत लड्नुपर्ने छ। 

अक्टोबरको सुरुमै उनले आफ्नै कम्पनीअन्तर्गतको जी न्यूजलाई दिएको अन्तर्वार्तामा भनेका छन्- ‘म फेरि पनि लड्नेछु तर यो बित्तीय लाभका लागि नभई त्यो आत्मसन्तुष्टिका लागि हुनेछ जुन मैले इमानदारीपूर्वक लाखौं जी  हेर्ने दर्शकहरु निर्वाह गरेको छु।'(पि आर संजय/ब्लुमबर्ग)