उद्योगमन्त्री गजेन्द्र हमालकाे राजीनामा स्वीकृत

नवनियुक्त उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री गजेन्द्रबहादुर हमालले पदबाट राजीनामा दिएका छन् ।

प्रधानमन्त्री शेरबहादुर देउवाले हमालको नियुक्तिका विषयमा प्रश्न उठेपछि राजीनामा गर्न अनुरोध गरेका थिए । हमालले आइतबार बिहान पदबाट राजीनामा दिएका हुन् ।

विभिन्न संचार माध्याममा आएका समाचार र कानुनविदले प्रश्न उठाए पछि हमालले पदबाट राजिनामा गरेको बताएका छन् ।

‘सम्माननीय प्रधानमन्त्रीज्यू म लामो समयदेखि कांग्रेसको विभिन्न पदहरुमा सक्रिया रही बाँके जिल्लाको पार्टी सभापति समेत भएर काम गरेकाले पार्टीले सोही अनुसार मुल्यांकन गरेर मन्त्री पदमा नियुक्ति गरेको मैले ठानेको छु’, हमालले राजीनामा पत्रमा भनेका छन्, ‘हाल विभिन्न संचारमाध्यायमहरुमा संप्रेसित समाचार तथा कानुनविद्हरुले मेरो नियुक्तिलाई अन्यायपूर्वक अन्यत्र जोडी समाचार संप्रेसित गरेको र यस्ता समाचारले आफ्नो बर्षोसम्म लोकतन्त्र, विधिको शाशन तथा राज्यका निकायहरुबीच शक्ति पृथकिकरणको सिद्धान्तको लागि लडेको लडाईको समेत अवमुल्ययन भएको बोध भएको छ । तर पनि मेरो नियुक्तिको विषयलाई लिएर प्रश्न उठेबाट म पदभन्दा व्यवस्थाका लागि लडेको व्यक्ति भएकाले यस्तो आशंकाकैबीच मन्त्रीपदमा बसिरहन उपयुक्त नलागेकाले मन्त्री पदबाट राजीनामा दिएको छु ।’

हमालले दिएको राजीनामा प्रधानमन्त्री देउवाले आइतबार बिहान स्वीकृत गरेका हुन् ।

बाँके जिल्लाका पूर्वकांग्रेस सभापतिसमेत रहेका हमाललाई प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको कोटाबाट मन्त्री बनाइएको भन्दै मुलुकमा सिर्जित विवादका कारण पद सम्हालेको ७२ घण्टामै राजीनामा दिएका हुन् ।

नातामा राणाका जेठान हमाललाई मन्त्रीका रुपमा सामेल गर्दा नेपाली कांग्रेससँगै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बचाउ गरे तापनि न्यायिक क्षेत्रका एक वर्ग तथा सामाजिक सञ्जालमा त्यसको तीव्र आलोचना भइरहँदा हमालले राजीनामा दिएका हुन् ।