नवनियुक्त उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री गजेन्द्रबहादुर हमालले पदबाट राजीनामा दिने भएका छन्।
बाँके जिल्लाका पूर्वकांग्रेस सभापतिसमेत रहेका हमाललाई प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको कोटाबाट मन्त्री बनाइएको भन्दै मुलुकमा सिर्जित विवादका कारण पद सम्हालेको ७२ घण्टामै राजीनामा दिने निर्णय उनले गरेका हुन्।
‘म आज अपराह्न प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर राजीनामा बुझाउँदै छु। मेरो यो फैसला अन्तिम हो’, हमालले देश सञ्चारसँग भने ।
नातामा राणाका जेठान हमाललाई मन्त्रीका रुपमा सामेल गर्दा नेपाली कांग्रेससँगै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बचाउ गरे तापनि न्यायिक क्षेत्रका एक वर्ग तथा सामाजिक सञ्जालमा त्यसको तीव्र आलोचना भइरहँदा हमालले राजीनामाको निर्णय लिएको बताए।
‘म नेपाली कांग्रेसको सक्रिय सदस्य र सचेत नागरिक हुनुको नाताले राष्ट्रियता, प्रजातन्त्र, न्यायपालिकाको स्वतन्त्रता र सार्वजनिक जीवनका नैतिक मूल्यबारे सचेत र समर्पित छु। मन्त्री पद मेरो लागि महत्वपूर्ण छैन’, उनले भने।











