हामीले नेपाल कम्युनिष्ट पार्टी(एमाले)को ऐतिहासिक प्रथम विधान महाधिवेशन सम्पन्न गरेका छौ। क.केपी ओलीको नेतृत्वमा सम्पन्न यो महाधिवेशनले हाम्रो पार्टीको एकताको रक्षा , सुदृढिकरण र विस्तारको पक्षमा महत्वपूर्ण नीति र कार्यक्रम सर्वसम्मतीले पास गर्ने असल परम्पराको थालनी गरेको छ। यो महाधिवेशनले भविष्यमा नेपालको समग्र राजनीतिलाई,विषेशत:नेपाली जनबादी आन्दोलनको नीति र नेतृत्व निर्माण गर्ने परम्परागत अभ्यासलाई नया दिशा निर्देश गर्नेछ । संगसंगै कम्युनिष्ट पार्टीको बिभाजन र फुटमा रमाउने निम्नपुजीवादी नेतृत्वलाई एकता र सहकार्यको निम्ति पनि बाध्य बनाउने छ। जो एकतामा आउने छैन उनिहरुको कम्युनिष्ट पार्टी रुपी फुटपाथे-पसल सधैको लागि बन्द हुनेछ ।
यो विधान महाधिवेशनले नेकपा(एमाले)लाई नेपालको समग्र राजनीतिक शक्तिको रुपमा कम्युनिष्ट आन्दोलनको मूल प्रवाह हो भन्ने कुरालाई ब्यबहारबाटै सावित गरेको छ। यो महाधिवेसन जुन स्तरमा भव्यताका साथ सम्पन्न भएको छ,पार्टी नेृतृत्व पनि त्यहि स्तरमा एकतावद्ध र सुसंगठित देखिएको छ ,संगै एमाले बिरोधीहरुको लागि यो महाधिवेसन टाउको दुखाईको बिषय बनेको छ। यति सम्म कि यो महाधिवेसनको सफलताले उनिहरुको होसहवास नै उडाई दिएको छ, मानौ उनिहरु बेहोसी मै “ हाम्रो पार्टी र नेतृत्वले आगामी चुनाव पछि देशै कव्जा गर्दैछ जसरी भए पनि एमालेलाई अघि बढ्नबाट रोक्नु पर्छ“ भन्ने भाषण गरि रहेका छन् । उनिहरुले जुनसुकै अर्थमा जे भने पनि यो कुरामा सोह्रैआना सत्यता छ।आगामी चुनाव पछि नेकपा(एमाले )मात्रै नेपाल राष्ट्र र नेपाली जनतालाई सहि दिशा तर्फ नेतृत्व गर्ने हैसियतमा रहेको एकमात्रै पार्टी हो ,भन्ने कुरा प्रमाणित भएको छ ।
नेपाली जनताको दिल र दिमागमा बसेको हाम्रो पार्टीको बारेमा जति नै भ्रामक प्रचार र बिरोध गरे पनि क.पुष्पलाल, क.मदन भण्डारी र क.मनमोहन अधिकारीको बिरासतको उत्तराधिकारी नेकपा(एमाले) र क.केपी ओली मात्रै हुन्,भन्ने कुरा प्रमाणित भएको छ । आफुलाई खाट्टी क्रान्तिकारी कम्युनिष्ट भन्ने ,आफुलाई खाट्टी विधि र पद्धतिको रखवाला कम्युनिष्ट ठान्नेहरु नेपालका नोकरशाही र दलाल पुजिपति वर्गको पार्टी नेपाली कांग्रेसको दलाल र भरिया बनेर भाग खान कै लागि मात्रै सत्ताधारी भएका छन्।राजनीतिलाई कमाई खाने भाडो ठान्ने यि भागबण्डाका नाईकेहरुले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)लाई फुटाएर क.केपी ओलीको नेतृत्वमा बनेको दुई तिहाई बहुमतको कम्यनिष्ट सरकार ढाल्ने अपराध गरेका छन्।यस्ता जनबिरोधी र दक्षिणपन्थी अवसरवादी राजनीति गर्ने कम्युनिष्ट आन्दोलन भित्रका हरिया(हरेउ) सर्पहरुलाई सदाको समाप्त पार्नको लागि पनि यो ऐतिहासिक विधान महाधिवेसन कोशेढुंगा सावित भएको छ। पार्टी भित्र फरक मत हुदैमा फुट्दै हिड्ने गुट नाईकेहरुको लागि पनि यो महाधिवेसन दह्रो झापड सावित भएको छ।एमाले सिध्याउन देशी विदेशी प्रतिकृयावादी र साम्राज्यवादीहरुको मोटो लगानी र उक्साहट भयो ।यस्तो घटिया कर्ममा लाग्नेहरु, “जो आफुलाई पार्टीका बरिष्ट नेता र गणतन्त्रका पिता हु भन्ने ठान्छन् “ तिनैले पार्टी फुटाउने कायरतापूर्ण बाटोबाट पार्टी भित्र तोडफोड ,गुटबन्दी र बिभाजनको असभ्य र जंगली ब्यबहार प्रदर्शन गरे । त्यतिले नपुगेर चालु संसदलाई छलेर राती बाह्र बजे अध्यादेश जारी गरियो । सरकार ,संसद र अदालत समेत दुरपयोग गरेर श्रृखलाबद्ध रुपमा नेपाल कम्युनिष्ट पार्टीको मूल प्रबाह नेकपा (एमाले)लाई सिध्याउन गरिएका यस्ता कुकार्यले संसार भरिनै नांगिएका र बदनाम बनेकाहरुको गठजोड बिरुद्ध हाम्रो पार्टीले आयोजना गरेको विधान महाधिवेसन बिजय र एकताको महाधिवेशनको रुपमा भव्यताका साथ सम्पन्न हुनु ,बिखण्डनकारी र अस्थिरतावादी र षडयन्त्रकारी गठबन्धनको लागि लाखौ टिएनटीको अणुबम प्रहार भन्दा पनि घातक र विनासकारी सावित भएको छ। आफुलाई लोकतन्त्रको मसिहा ठान्ने नेपाली कांग्रेसले जसरी सरकार बनाएको छ भविष्यमा यो मुद्दाले कांग्रेसी लोकतन्त्र केवल नारामा मात्रै सिमित भएको छ।
आबधिक निर्वाचन र ताजा जनादेशको बिरोध गर्ने गठबन्धनकारी शक्तिहरुको अग्रगमन र लोकतन्त्रको अपरिहार्यता र सम्मानको लगौटी सरकार बनेको दुई चार दिनमै खुस्किएर लाज बचाउन असमर्थ भएका छन्।यिनीहरुको संसदको सर्वोच्चता हात्तीको देखाउने दांत मात्रै हो भन्ने प्रमाणित भएको छ।अदालतको परमादेश जस्तो अलोकतान्त्रि र असम्बैधानिक बाटोबाट पनि कांग्रेस सरकारमा जान मरिहत्ते गर्छ,दुईथान मंत्री दिएर सर्बोच्च अदालतलाई संसदीय राजनीतिको लिलामी बजारमा नांगो पार्न कुनै कसर बाकि राख्दैन,भन्ने प्रमाणित भएको छ।
एमाले फुटाउन कै लागि ,माधब नेपाललाई पार्टी नेताको संबैधानिक दर्जा दिलाउन कै लागि ल्याएको दल बिभाजन सम्बन्धी अध्यादेस नेपाली कांग्रेसको लागि त्यस्तो अभिसाप हो जुन ‘महाभारतमा युद्धमा पाण्डवका सुतेका नातीहरुको हत्यागर्ने अस्वथामाको शिरमा कृष्णजीले सुदर्शन चक्र प्रहार गरेर घाईते बनाए पछि, तिम्रो मृत्यु कहिल्यै नहोस अर्धमृत बनेर बाच्न परोस,भनेर दिएको श्राप जस्तै हुनेछ । नेपाली जनताको मतलाई अपमान गरे संसदलाई छलेर गरिएको यो अपराधको लागि कांग्रेस पार्टी सजायको भागिदार बन्नै पर्छ। तर यस्तो फैसला कुनै सर्बोच्च अदालतको प्रधान न्यायधिसले गर्ने नभएर यो देशका सार्वभौम सत्ताका मालिक आम नेपाली जनताले गर्नेछन्।
राजनीतिको महायुद्धमा असम्बैधानिक अध्यादेश मार्फत नेपाली जनताको आशा र भरोसाको केन्द्र बनेको नेकपा (एमाले )लाई सिध्याउने षडयन्त्रर्पूर्ण राजनीतिक अपराध गरेको कांग्रेसी देउवा सरकार र उसका गठबन्धनका मतियार पार्टीहरुको को लागि यो अध्यादेश काण्ड निक्कै महंगो सावित हुनेछ। हाम्रा बिरोधीहरुको चौतर्फि हमलाका बाबजुद प्रथम विधान महाधिवेसनले देखाएको पार्टी-एकता प्रतिको प्रतिवद्धता र क.केपी ओलीको नेतृत्व प्रतिको अपार विस्वाश र उत्साहले नेकपा (एमाले)ले मात्रै नेपाली जनताको भाग्य र भविष्यको सफल नेतृत्व प्रदान गर्न सक्छ भन्ने प्रमाणित भएको छ। क.मदन भण्डारीद्धारा प्रतिपादित जनताको बहुदलीय जनवादको आलोकमा “समृद्ध नेपाल र सुखि नेपाली “ भन्ने मूलनारामा राष्ट्रिय स्वाधिनता र सार्वभौमसत्ता सम्पन्न समाजबादी गणतन्त्र नेपालको निर्माण तर्फ नेकपा(एमाले)ले जारी राखेको यो महान यात्रालाई कसैले अबरुद्ध गर्ने सपना देखेको छ भने त्यस्ता प्रतिगामी,दक्षिणपंथी अवसरवादी र षडयन्त्रकारीहरुलाई नेपाली जनताको समर्थनप्राप्त नेतृत्वदायी राजनीतिक पार्टी नेकपा(एमाले)ले धुलेपिठो पारि दिनेछन्।
अहिले सत्तालिप्साको संसदीय-फोहोरको डंगुरबाट निश्रृत गठबन्धन सरकारले हैन केवल अदालती परमादेशका कारण क्षणिक रुपमा एमाले सत्ता बाहिर बस्नु परे पनि आगामी निर्वाचन पछि भारि जनादेश सहित सिंहदरवारको मुलगेटबाटै दुई तिहाई बहुमतको सरकारको नेतृत्व गर्नबाट कसैले रोक्न सक्दैन। यो सुखद र महान कार्य पुरा गर्ने सामर्थ्य र अवसर नेकपा (एमाले)कै कुशल नेता र कार्यकर्ताहरुको काधमा रहेको छ।यो कुरा बुझाउनको लागि हाम्रो पार्टीका सबै तहका नेता कार्यकर्ताहरु योजनाबद्ध ढंगले जनता माझ पुग्न जरुरी छ।ऐतिहासिक विधान महाधिवेसनको यो सन्देशलाई गाऊ ,शहर,हिमाल ,पहाड र तराईका फाटहरुमा मेची देखि महाकाली सम्म गुन्जायमान बनाउने जिम्मेवारी पुरा गरेर मात्रै ‘समृद्घ नेपाल र सुखि नेपाली’भन्ने नारामा महान नेपाली समाजवादको निर्माण अवश्यमम्भावी छ। (लेखकः नेकपा एमाले सिन्धुलीका सेक्रेटरी हुनुहुन्छ ।











