कोरोना संक्रमणको त्रासः उदयपुरकोभुल्केमा पुग्यो विश्व स्वास्थ्य संगठनको टोली

उदयपुरको झुल्के जहाँ कोरोना संक्रमितहरु देखिएपछि बजार क्षेत्र सुनसान भएको छ । फोटोः प्रदेशखवर

उदयपुरको भुल्केमा १२ स्थानीयसहित २८ जनामा कोरोना संक्रमण देखिएपछि संक्रमणको जरा खोतल्न विश्व स्वास्थ्य संगठनसहितको टोली अनुसन्धानको लागि भुल्के पुगेको छ।

स्वास्थ्य मन्त्रालयका विज्ञ सल्लाहकार डा. खेम कार्कीका अनुसार बिहीबार पुगेको टोलीले एक हप्ताभित्र रिपोर्ट पेस गर्ने हिसाबले काम सुरु भएको छ। टोलीमा विश्व स्वास्थ्य संगठनका प्रतिनिधिसहित चार जना जनस्वास्थ्य विज्ञ छन्।

‘उहाँहरूले एक हप्तामा संक्रमण कसरी फैलियो, संक्रमणको फैलावट कहाँसम्म पुग्ने भनेर रिपोर्ट पेस गर्नुहुन्छ,’ उनले भने।

अहिले उक्त टोली संक्रमण फैलिएको भुल्केमै पुगेर अनुसन्धान गरिरहेको छ। गत शुक्रबार भुल्केस्थित एक मस्जिदमा रहेको १६ जनामध्ये १२ जनामा कोरोना पुष्टि भएको थियो।

बाँकी चार जनामा पछि संक्रमण पुष्टि भएपछि सो क्षेत्रलाई उच्च जोखिमको रुपमा लिइयो। लगत्तै वस्तीमा रहेका मानिसहरूको पनि परीक्षण गर्ने प्रकृयामा १२ जनामा कोरोना पुष्टि भयो। त्यसलगत्तै विश्व स्वास्थ्य संगठनसहितको टोली संक्रमण कसरी फैलियो भन्नेबारे अनुसन्धान गर्न सो वस्ती पुगेको हो।

अहिले प्रारम्भिक अनुसन्धानले जमाती समूहबाटभन्दा पनि भारतबाट आएका स्थानीय युवकबाट संक्रमण फैलिएको भन्ने आशंका गरिएको छ।

स्वास्थ्य कार्यालय प्रमुख डा. मोहन सुवेदीले जमाती समूहका व्यक्तिहरू चार महिनाअघि नै नेपाल आएको कुराले सो समूहबाट संक्रमण फैलिएको हुन नसक्ने बताए। उनका अनुसार फागुन तेस्रो साता भारतबाट आएका भुल्केकै एकजना स्थानीय युवकबाट संक्रमण फैलिएको हो कि भन्ने अनुमान छ।