स्थानीय प्रशासनले तरकारी लगायतका खाद्य पदार्थ सिन्धुली जिल्ला प्रवेशमा रोक लगाएका बेला सो आदेशलाई उलंघन गरेको आरोपमा पक्राउ परेका सिन्धुलीका २ तरकारी व्यवसायीलाई स्थानीय प्रशासनले कानूनी कारबाहीको प्रक्रिया अगाडि बढाएको छ ।
आज विहान भारतीय सिमा क्षेत्रमा जोडिएका तराईका जिल्लाबाट तरकारी ल्याएर सिन्धुलीमा विक्री गरेको अभियोगमा पक्राउ गरेका शंकर चौधरी र विनोद चौधरीलाई आज जिल्ला प्रशासनले थुनामा राख्नका लागि प्रहरीलाई बाटो खोलिदिएको हो ।
जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी उपरिक्षक रञ्जु सिग्देलले पक्राउ गरिएका २ जना तरकारी व्यापारीलाई संक्रामक रोग निवारण सम्बन्धी ऐन २०२० अनुसार कारबाहीको प्रक्रिया अगाडि बढाइएको बताउनुभयो । उहाँले हामीले आजैबाट उनीहरुले तरकारी कहाँबाट कसरी ल्याए र स्थानीय प्रसानको आदेशलाई उलंघन गरेर जनस्वास्थ्यमा पारेको असरका विषयमा थप अनुसन्धान गरिरहेको बताउनुभयो । हामी अनुसन्धान सकेपछि जिल्ला प्रशासन कार्यालयमा फाइल पठाउँछौं, सिग्देलको भनाई थियो ।
जिल्ला प्रशासन कार्यालय सिन्धुलीका सुचना अधिकारी उपेन्द्र न्यौपानेका अनुसार अन्य व्यवसायीले स्थानीय प्रशासनको आदेश उलंघन नगरुन् भन्नका लागि पनि उनीहरुमाथि कारबाहीको प्रक्रिया अगाडि बढाइएको हो । स्थानीय प्रशासनले तरकारी तथा फलफुल आयातमा रोक लगाउने र व्यापारीहरु उलंघनगर्दै रातारात ल्याउने काम त गर्नु भएन नि ? न्यौपानेले भन्नुभयो । पक्राउ परेका व्यापारीलाई संक्रामक रोग निवारण सम्बन्धी कानून अनुसार अनुसन्धानगरी कारबाही प्रक्रिया अगाडि बढाउनका लागि २५ दिन हिरासतमा राख्न अनुमति दिइएको उहाँको भनाई थियो ।
सर्लाही जिल्ला निवासी चौधरीद्धय सिन्धुलीमा विगत २५ वर्षदेखी तरकारी व्यवसायगर्दै आएका छन् । नाताले काका भतिज पर्ने उनीहरुको घर सिन्धुलीको मधुटारमा रहेको छ ।
स्मरणीय छ, पक्राउ परेका उनीहरुलाई कमलामाई नगरपालिकाले तराईका जिल्लाबाट तरकारी ल्याएर सिन्धुलीमा बिक्री गरिरहेको भन्ने सूचनाका आधारमा प्रहरी र स्थानीय प्रशासनलाई जानकारी गराएपनि उनीहरुले बिक्री गरेको तरकारसहित पक्राउ गरिएको थियो ।