प्रादेशिक अस्पताल जनकपुरमा पीसीआर मेसिनले रिपोर्ट गलत देखाएपछि स्वाब परीक्षणको काम स्थगित गरिएको छ।
प्रादेशिक अस्पताल जनकपुरमा जाँच गर्दा सर्लाहीका १४ वर्षीय बालकको पीसीआर रिपोर्ट नेगेटिभ आएपनि काठमाडाैँमा गरिएको परीक्षणमा रिपोर्ट पोजिटिभ आएपछि यहाँको जाँचमा शंका उत्पन्न भएको हो।
जनकपुरधाम र काठमाडौँको रिपोर्ट फरक–फरक आएपछि मेशिनले देखाएको रिपाेर्ट सही छ वा छैन भन्नेबारे जाँच थालिएकाे छ।
आरडीटी रिपोर्ट पोजेटिभ देखिएका सर्लाहीका ती बालकको जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा रहेको पीसीआर मेशिनले रिपोर्ट निगेटिभ देखाएपछि विज्ञहरुसँग भिडियो कन्फ्रेन्स गरी उक्त पीसीआर मेशिनको रिपोर्ट ‘भ्यालिड’ भए नभएको बारे जाँच गरिएको हो।
प्रादेशिक प्रयोगशालाका निमित्त निर्देशक डाक्टर रामविनय साहले मेशिनबाट चेकजाँच गर्न गल्ती भएको हो वा चिकित्सहरुबाट भन्नेबारे स्वाब लिइएका शंकास्पद बिरामीहरुको रिपोर्ट भिडियो कन्फ्रेन्समार्फत् पीसीआर मेशिनमा चेकजाँच गरिरहेको बताए।
उनका अनुसार सर्लाहीका बालकको स्वाब दुई पटक जाँच गर्दा पनि यहाँ नेगेटिभ आएको थियो। बालकको रिपोर्टबाट सन्तुष्ट नभएपछि थप परीक्षणका लागि काठमाडौँ पठाएको उनले बताए। काठमाडौँमा रिपोर्ट पोजेटिभ आएको थियाे।
रिपोर्ट फरक आएपछि प्रादेशिक अस्पताल स्वाब लिने क्रम जारी रहेको र पिसिआर मेशिनको रिपोर्ट कतिको भ्यालिड छ भन्ने यकीन गर्न भिडियो कन्फ्रेन्समार्फत् विज्ञहरुसँग छलफल जारी रहेको साहले बताए।