नेपाली कांग्रेसको जिल्ला अधिवेशन भदौ १८ गते हुँदैछ । अधिवेशन नजिकिंदै गर्दा गाउँ, क्षेत्र, नगर र जिल्ला सभापतिहरुले आन्तरिक रुपमा आफ्नो पक्षमा माहौल बनाउन लागिरहेका छन् । पार्टी केन्द्रमा रहेको आन्तरिक गुटहरु विगतमा जिल्लामा देखिएपनि त्यसले सिन्धुली कांग्रेसको जिल्ला तथा नगर अधिवेशनमा कुनै पनि प्रभाव नपार्ने देखिएको छ । विगतमा एउटा गुट वा नेताको पक्षमा रहेका जिल्लाका नेताहरु अहिले पार्टी सत्ता आफ्नो पक्षमा पार्नकैं लागि गुट परिवर्तन गरिएका दृष्टान्तहरु देखिंदैछन् । कांग्रेसमा जिल्ला सभापति बन्नका लागि सबैभन्दा पहिला महासमिति सदस्य बन्न जरुरी हुन्छ । आफु सभापति बन्नकै लागि अर्को पक्षलाई महासमिति सदस्यनैं बन्न नदिनेदेखी आफ्ना पक्षका र खासगरी आफ्नो पाकेटलाई कसरी नेतृत्वमा ल्याउने भन्नेसम्मका छलफल र काठेबैठकहरु बस्नेक्रम तीब्र बनेर गएको छ ।

पार्टी केन्द्रमा आफ्नै गुटका एकल उम्मेदवार बनाउन रामचन्द्र पौडेल समूहलाई सकस
परेजस्तै सिन्धुली कांग्रेसको सभापतिका दुई जना उम्मेदवार मैदानमा देखिएकाछन् । हालका पार्टी सभापति उज्वल बराल र उपेन्द्र पोखरेल जसरी पनि सभापति बन्ने दाउमा छन् । विगतमा दुबै जना कांग्रेसको एउटै गुटमा देखिएका थिए । यद्यपी दुई मध्ये पोखरेल अर्को गुटमा उभिएर बरालसँग प्रतिस्पर्धा गर्ने संभावना अत्यन्त झिनो छ । किनकी त्यो स्थितिलाई नजिकबाट नियाल्दा कांग्रेस सिन्धुलीको सभापति करिव करिव कुनैं नाटकीय फेरवदल नआएमा उज्वल बरालनैं बन्ने देखिएको छ । यता प्रदेश सभा सदस्यका पराजित उम्मेदवारसमेत रहेका नेता माणिक ढकाल सबैले सहमतिमा आफुलाई पार्टी सभापति बनाउनु पर्छ भनिरहेका छन् तर उनको त्यो आवाज झिनो बन्न थालेको छ । उनी कांग्रेसका त्यागी र इमान्दार नेता मानिएपनि अहिलेको राजनीतिमा ढकाललाई सम्मान गर्ने र पार्टी सभापति बनाइदिने मौजुदा अबस्था देखिंदैन ।

त्यसैगरी पोखरेल भने कार्यकर्ताका सबै समस्याहरुमा निरन्तर जोडिएकाले सभापतिका लागि आफु योग्य उम्मेदवार भएको र कुनै पनि अबस्थामा सभापति बन्ने र त्यसबाट पछाडि नफर्कने बताइरहेकाछन् । उनी आफ्नो पक्षमा पार्टीका निष्ठावान सक्रिय सदस्यहरुको ठूलो समूहरहेको बताउंदै आएकाछन् । तर बरालसँगै पोखरेल प्रतिस्पर्धामा उत्रने अबस्था नआउने कांग्रेस सदस्यहरु बताउने गर्छन् ।
त्यसैगरी पार्टी सभापति बराल अन्तिम पटकका लागि आफुनैं सभापति बन्ने भन्दै आफ्नो पक्षमा माहौल बनाइरहेकाछन् । पार्टी केन्द्रको राप र तापको प्रभाव मात्रै होइन आम कार्यकर्ताको भावना आफ्नो पक्षमा रहेको बरालले बताइसकेका छन् । कांग्रेसको विरासतलाई बरालले जोगाउने र पछिल्लो पुस्ताका कार्यकर्ताको भावना र संरक्षण भने पोखरेले मात्रै गर्न सक्ने उनीहरुले बताउन थालेकाछन् ।

त्यसैगरी क्षेत्रीय सभापतिमा गोलन्जोर गाउँपालिका अध्यक्ष पुष्प कार्कीले क्षेत्रीय सभापतिका लागि पार्टी कार्यकर्तामाझ आफु उम्मेदवार भएको बताइसकेकाछन् । कांग्रेसको क्षेत्र नं. १ का लागि कार्की बलिया उम्मेदवार हुन् । केही दिन अगाडि तीनपाटन गाउँपालिका अध्यक्ष कर्णवहादुर मगरले तरुणदलको एक कार्यक्रममा आफ्नो क्षेत्रीय सभापतिमैं उम्मेदवारी रहने घोषणा गरे । कांग्रेस नेता श्याम घिमिरेका विश्वास पात्रका रुपमा आफुलाई उभ्याएका मगरले क्षेत्रीय सभापति भएर पार्टी र संगठनलाई बलियो बनाउने भन्दा कमजोर बनाएको, सानो गुट चलाएर पार्टी हिन भन्दा पनि व्यक्तिगत हितका लागि काम गरिरहेको कांग्रेसीहरु नैं बताउने गर्छन् । अझ पछिल्लो समय गाउँपालिकाको प्रशासनिक भवन निर्माणका क्रममा उनीमाथि लागिरहेको अनियमितताको आरोपलाई खण्डन गर्न नसकेको र सिंगो पार्टीलाई अनियमितात जस्तो विषयमा बोल्न दबाब दिएर कार्यकर्तालाई निराश बनाएकाले पनि तीनपाटन कांग्रेसमा उनको आलोचना बढ्दै गएको छ । यस्तो अबस्थामा थापालाई क्षेत्रीय सभापति बनाएर फेरी कांग्रेस पार्टीलाई कमजोर बनाईनु हुन्न भन्नेहरुको समूह बलियो बन्दैगएको छ । त्यसैले पनि क्षेत्रीय पार्टी सभापतिका लागि भएको दौडमा मगरका अगाडि कार्की निकै बलिया देखिएका छन् । गोलन्जोरमा २० वर्षसम्म पार्टीलाई जितिरहने अबस्था बनाउँछु भन्दै सार्वजनिक अभिव्यक्ति दिएर हिंड्ने गरेका कार्कीले पार्टीका हरेक गतिविधिमा आफुलाई सामेल गराउंदै आएकाछन् । तर थापाको भूमिका कार्कीको जस्तो नरहेको कांग्रेस कार्यकर्ताहरुनै बताउन थालेकाछन् । त्यसैगरी क्षेत्र नं. २ को क्षेत्रीय सभापतिका लागि कपिल कोइराला र बोधबिक्रम थापाले घोषणा गरेका छन् । दुई उम्मेदवार मध्ये थापा बलियो रहेको बताइन्छ ।

त्यसैगरी कमलामाई नगरपालिकाको सभापतिमा उज्वलकुमार थापाले घोषणा गरेकाछन् । कांग्रेसको युवा पंक्तिमा अत्यन्त लोकप्रिय, मिजाशिला र जनताको काम गर्नका लागि कुनै कसर बांकी नराख्ने थापानैं नगरसभापतिका एकमात्रै लोकप्रिय उम्मेदवार बनेकाछन् । त्यसैगरी दुधौलीमा पुरानैले दाहोर्याउने दाउमा छन् ।











