सरकारले तुइन घटनालाई थामथुम गर्न लागेको भन्दै एमालेले जनायो आपत्ति

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले दार्चुलाका जयसिंह धामी तुइनबाट महाकाली नदीमा खसेको घटनाबारे छानबिन समितिको प्रतिवेदनमाथि असन्तुष्टि जनाएको छ । आज एक प्रेस विज्ञप्ति निकाल्दै एमालेले तुइन घटनामा छानबिन समितिको प्रतिवेदन अस्पष्ट रहेको बताएको हो एमाले प्रवक्ता प्रदीप ज्ञवालीले निकाल्नुभएको प्रेस वक्तव्यमा भनिएको छ, ‘पटकपटक म्याद थपेर निकै ढिलो गरी प्रतिवेदन बुझाइए पनि प्रतिवेदन अस्पष्ट रहेको र सरकार यस घटनालाई थामथुम गर्ने प्रयासमा लागेको देखिएको छ ।’ यस्तै एमालेले आफ्ना नागरिक बेपत्ता पारिएको संवेदनशील घटनाका सम्बन्धमा भारतीय पक्षसँग जानकारी लिन, सोधपुछ गर्न, आपत्ति जनाउन र कुटनीतिक पहल गर्न नसक्ने सरकारले नागरिक ध्यान मोड्न खोजेको आशङ्का देखिएको बताएको छ । अविलम्ब यस घटनाको यथार्थ सार्वजनिक गर्न, दोषीलाई कारबाही गर्न र पीडित परिवारलाई न्याय सुनिश्चित गर्न एमालेले माग गरेको छ ।