आज लोकतन्त्र दिवस

राजसंस्थाको अन्त्य भई नयाँ नेपालको खाका कोरिएको सुनौलो दिन आज वैशाख ११ गते । बासठ्ठी त्रिसठ्ठीको ऐतिहासिक जनआन्दोलन उत्कर्षमा पुगेपछि जनताको शक्तिका सामु आजकै दिन निरङ्कुश राजतन्त्रले घुँडा टेकेको थियो ।

तत्कालीन राजा ज्ञानेन्द्र शाहले विघटित प्रतिनिधि सभाको पुनःस्थापना गर्दै राजनीतिक दलले कोरेको मार्ग चित्र अनुसार अगाडि बढ्ने घोषणा गरेका थिए । सोही घोषणा अनुसार पुनःस्थापित संसद्को जेठ ४ गतेको बैठकले राजसंस्थालाई निलम्बन गर्दै कार्यवाहक राष्ट्राध्यक्षको अधिकारसमेत प्रधानमन्त्रीलाई दिएको थियो ।

शान्तिपूर्ण सडक आन्दोलन गर्दै आएका सात राजनीतिक दल र सशस्त्र संघर्षमा रहेको तत्कालीन नेकपा माओवादी बीच सम्पन्न १२ बुँदे सहमतिपश्चात् १९ दिने ऐतिहासिक जनआन्दोलन भएको थियो । नेपाली जनताको ठूलो त्याग र वलिदानबाट प्राप्त लोकतन्त्रकै जगमा संविधान सभामार्फत २०७२ असोज ३ गते जनताका प्रतिनिधि आफैँले लेखेको संविधान जारी भएको थियो ।