टोकियो ओलम्पिक : अमेरिका र चीनलाई उछिन्दै जापान १० स्वर्णसहित शीर्ष स्थानमा

Tokyo 2020 Olympics - Table Tennis - Mixed Doubles - Gold medal match - Tokyo Metropolitan Gymnasium - Tokyo, Japan - July 26, 2021. Mima Ito of Japan and Jun Mizutani of Japan pump their fists as they react during their match against Xu Xin of China and Liu Shiwen of China

जापानको राजधानी टोकियोमा जारी ३२औँ ग्रीष्मकालीन ओलम्पिक खेलकूदमा आयोजक जापान पदक तालिकाको शीर्ष स्थानमा उक्लेको छ।

अमेरिका र चीनलाई उछिन्दै जापान शीर्ष स्थान ओगट्न सफल भएको हो। जापानले हालसम्म १० स्वर्ण, तीन रजत र पाँच कास्यसहित १८ पदक प्राप्त गरेको छ।

अमेरिका दोस्रो तथा चीन तेस्रो स्थानमा रहेका छन्। अमेरिकाले नौ स्वर्ण, आठ रजत र आठ कास्य पदक प्राप्त गरेको छ भने चीनले नौ स्वर्ण, पाँच रजत र सात कास्य प्राप्त गर्न सफल भएको छ।

यस्तै सात स्वर्ण, सात रजत र चार कास्य पदक प्राप्त गर्दै रसियन ओलम्पिक कमिटी पदक तालिकाको चौथो स्थानमा छ। बेलायत चार स्वर्ण, पाँच रजत र चार कास्य पदकका साथ पाँचौँ स्थानमा रहेको छ।

दक्षिण कोरिया तीन स्वर्ण, दुई रजत र पाँच कास्यसहित छैटौँ, अस्ट्रेलिया तीन स्वर्ण, एक रजत र पाँच कास्यका साथ सातौँ, क्यानडा दुई स्वर्ण, तीन रजत र तीन कास्य जित्दै आठौँ, फ्रान्स दुई स्वर्ण, दुई रजत र तीन कास्यका साथ नवौँ तथा जर्मनी दुई स्वर्ण र तीन कास्यका साथ पदक तालिकाको १०औँ स्थानमा रहेको छ। टोकियो ओलम्पिकमा सहभागी २०५ देशमध्ये हालसम्म ५६ देशले पदक प्राप्त गर्न सफल भएका छन्।   

नेपालबाट चार खेलमा पाँच खेलाडी टोकियो ओलम्पिकमा सहभागी भएका छन्। तीमध्ये सुटिङकी  कल्पना परियार, जुडोकी सोनिया भट्ट, पौडीका एलेक्स शाहले खेलिसकेका छन्। तीनै जना पराजित भई प्रतियोगिताबाट बाहिरिएका छन्।

टोकियो ओलम्पिकमा अब पौडीकी गौरिका सिंह र एथलेटिक्सकी सरस्वती चौधरीले प्रतिस्पर्धा गर्न बाँकी छ। गौीरकाले महिला १०० मिटर फ्रि स्टाइल तथा सरस्वतीले महिला १०० मिटर दौडमा प्रतिस्पर्धा गर्नेछन्।। गौरिकाले आज तथा सरस्वतीले भोलि आ–आफ्नो खेलमा प्रतिस्पर्धा गर्नेछन्।