रामेछापको मन्थली कुनाउरीमा यात्रुवाहक बस दुर्घटना हुँदा २८ जना घाइते भएका छन् । घाइतेमध्ये २ जनाको अवस्था गम्भीर रहेको छ । बुधबार बिहान काठमाडौंबाट यात्रु लिएर दोलखाको मालुखोला जान लागेको पूर्व अरनिको यातायात समितिको बा २ ख ६८१८ नम्बरको बस ब्रेक फेल भएर दुर्घटनामा परेको हो।
दुर्घटनामा घाइते भएका सबैको मन्थलीस्थित तामाकोसी अस्पतालमा उपचारका लागि भर्ना गरिएको छ। जिल्ला प्रहरी कार्यालय रामेछापका अनुसार गम्भीर अवस्थाका २ जनालाई थप उपचारका लागि काठमाडौं पठाउने तयारी भइरहेको छ।
लकडाउनमा काठमाडौंमा अलपत्र परेका नागरिकहरुलाई स्थानीय सरकारले बसको व्यवस्था गरी धमाधम गाउँ फर्काउन थालेका बेला उक्त दुर्घटना भएको हो।