
प्रधानमन्त्री शेरबहादुर देउवाले एमसिसी परियोजनालाई संसदबाट अनुमोदन गर्नबाट कसैले रोक्न नसक्ने प्रष्ट पार्नुभएको छ । आफ्नै निवास बुढानिलकण्ठमा बधाइ दिन आउनुभएका नेपालका लागि अमेरिका राजदूत र्याण्डी बेरीसँगको भेटमा प्रधानमन्त्री देउवाले यस्तो जानकारी दिनुभएको हो ।
सचिवालय स्रोतका अनुसार प्रधानमन्त्री देउवाले एमसीसी पारित गर्ने बिषयमा सत्ता गठबन्धनमा रहेका सवै दलहरु सहमत रहेको जानकारी दिनुभएको छ । ‘एमसिसी पारित गर्न समस्या छैन, हाम्रो गठबन्धनमा सहमति भइसकेको छ, बिपक्षी दलका नेता पनि आफ्नो अडानबाट पछि हटनु हुन्न,’ राजदूत बेरीसँग प्रधानमन्त्री देउवाको भनाई उधृत गर्दै सचिवालय स्रोतले भन्यो । बधाइ दिन आएका राजदूत बेरीले एमसीसीबारे चासो राखेपछि प्रधानमन्त्री देउवाले यस्तो जानकारी दिनुभएको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीको पालामा एमसीसी पारित गर्न खोज्दा राष्ट्रघाती रहेको भन्दै प्रचण्डले बिरोध जनाउनु भएको थियो । देउवा प्रधानमन्त्री बनेपछि भने यो संझौता राष्ट्रकै हितमा रहेकोमा प्रचण्ड कन्भिन्स भइसकेको जानकारीसमेत प्रधानमन्त्रीले राजदूतलाई दिनुभएको छ । प्रधानमन्त्री देउवाले आफ्नो नयाँ कार्यकालमा नेपाल र संयुक्त राज्य अमेरिकाबीचको मित्रता र साझेदारीलाई थप सुदृढ गरिने अठोटसमेत ब्यक्त गर्नुभएको छ ।