उवालाई आफूमाथि अन्याय भएको भन्दै बालुवाटार प्रकरणबाट जोगाउन आग्रह गर्दै आएका पूर्व उपप्रधानमन्त्री एवं नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदार बालुवाटार जग्गा प्रकरणमा अख्तियारको मुद्दामा १० लाख रुपैयाँ धरौटीमा रिहा हुनुभएको छ । विशेष अदालतले आज थुनछेक बहसपछि गच्छदारलाई १० लाख रुपैयाँ धरौटी बुझाउन आदेश दिएको अदालतका प्रवक्ता पुष्पराज पाण्डे जानकारी दिनुभयो ।
पटक–पटक मुद्दाको म्याद बुझ्न अस्वीकार गरेका गच्छदारलाई ‘फरार’ सूचीमा राखिएको थियो । बिहान आफैं विशेष अदालत पुगेर थुनछेक बहसमा सहभागी भएका गच्छदारले यसअघि देउवालाई आफूमाथि अन्याय भएको भन्दै बालुवाटार प्रकरणबाट जोगाउन आग्रह गर्दै आउनुभएको थियो ।
देउवाले आफूले मिलाउने आश्वासन दिए पनि सत्तामा नरहेकाले गच्छदार अदालतको म्याद नबुझी बसिरहनुभएको थियो ।देउवा प्रधानमन्त्रीमा नियुक्त भएको भोलिपल्टै गच्छदारले अदालतमा आत्मसमर्पण गर्नुभएको हो । गत वर्ष फागुनमा विशेषले १५ दिनभित्र अदालत उपस्थित हुनु भनी म्याद पठाएपछि गच्छदार उपस्थित नभई फरार थिए । गच्छदारविरुद्ध ९ करोड ६५ लाख ७६ हजार बिगो माग गर्दै अख्तियारले भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।
गच्छदारले सरकारी जग्गा व्यक्तिको बनाउन मन्त्रिपरिषद्मा प्रस्ताव लैजान विभागीय मन्त्रीको रूपमा गैरकानूनी कार्य गरेको अभियोग पत्रमा उल्लेख छ। ललिता निवासको ११३ रोपनी सरकारी जग्गा व्यक्तिको बनाई भ्रष्टाचार गरेको आरोपमा विशेष अदालतमा २०७६ माघ २२ गते गच्छदारसहित १७५ जनाविरुद्ध मुद्दा दायर गरिएको थियो ।