फैसलाले जस्केलाबाट निर्दलीय व्यवस्था छिर्यो : एमाले

नेकपा एमालेले सर्वोच्च अदालतको फैसलाबाट सरकार बनाउने ठाउँ खोज्न अन्तै जानुपर्ने अवस्था सिर्जना भएको ठहर गरेको छ । आज बसेको एमाले स्थायी कमिटीको अनौपचारिक बैठकले अदालतको फैसलाले निर्दलीय व्यवस्थालाई जस्केलाबाट छिराउन खोजेको ठहर समेत गरेको प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिनुभयो ।

ज्ञवालीका अनुसार सर्वोच्चको फैसलाले नेपालको लोकतान्त्रिक प्रणालीका आधारभूत संरचनाहरुलाई खल्बल्याउने काम गरेको छ । ‘सरकार बनाउने संविधानका आफ्नै व्यवस्थाहरु छन् । आजको फैसलाबाट हामीले सरकार बनाउने ठाउँ खोज्न अन्तै जानुपर्ने भएको छ । सर्वोच्चले प्रधानमन्त्री नियुक्त गर्ने लोकतन्त्रमा कल्पनाबाहिरको अभ्यास आजबाट भएको छ । यसले हामीलाई चिन्तित तुल्याएको छ,’ बैठकको निश्कर्ष सुनाउँदै सञ्चारकर्मीसँग ज्ञवालीले भन्नुभयो ।

सर्वोच्चको फैसलाले दलहरुले संघर्ष गरेर ३२ वर्षअघि समाप्त गरेको निर्दलीय प्रणाली जस्केलाबाट छिर्न थालेको आभास भएको निश्कर्ष आफूहरुको रहेको पनि उहाँले जानकारी दिनुभयो । सर्वोच्चको फैसलापछि उत्पन्न परिस्थितिबारे औपचारिक धारणा तय गर्न एमालेले भोलि मंगलवार स्थायी कमिटीको औपचारिक बैठक बोलाएको छ । स्थायी कमिटीको अनौपचारिक बैठकमै उपाध्यक्ष तथा वार्ता टोलीका माधव नेपाल पक्षीय संयोजक भीम रावलले कार्यदलको प्रतिवेदन अध्यक्ष ओलीलाई बुझाउनु भएको छ ।