विपक्षी गठबन्धको सेटिङलाई ध्वस्त बनाउँछौं: महेश बस्नेत

नेकपा एमालेका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री महेश बस्नेतले विपक्षी गठबन्धनको स्वतन्त्र न्यायपालिकादेखी अन्य सम्पूर्ण ठाउँहरुमा भएको सेटिङ ध्वस्त बनाउने चेतावनी दिनुभएको छ । राष्ट्रिय युवा संघ नेपाल केन्द्रीय कमिटीको ‘वृहत राष्ट्रिय वृक्षारोपण कार्यक्रम २०७८’ को अभियान अन्तरगत आज संघको भक्तपुर जिल्ला कमिटीले मध्यपुर थिमी नगरपालिका वडा नं. ९ निलवाराही मन्दिर परिसरमा गरेको वृक्षारोपण कार्यक्रममा बोल्दै नेता बस्नेतले एमालेले गरेको लोकप्रीय कार्यक्रमबाट विपक्षी गठबन्धन तर्सिएर सरकार तथा पार्टी विरुद्धमा अनेकन षड्यन्त्रहरु गरिरहेको आरोप लगाउनुभयो ।

संघका इन्चार्ज समेत रहनुभएको नेता बस्नेतले एमाले, सरकार तथा राष्ट्रको विरुद्धमा भएको विपक्षी गठबन्धनले स्वतन्त्र न्यायापालिका, राष्ट्रिय तथा अन्तराष्ट्रिय रुपमा सरकार, पार्टी तथा मुलुकविरुद्धका कुनै पनि गतिविधिहरुलाई निस्तेज पार्न युवा संघ जस्तोसुकै कदम चाल्न पछि नपर्ने चेतावनी दिनुभयो । एमालेको जनमुखी कदमले आफ्नो राजनीतिक भविष्य जनताले अन्धकार बनाउने बुझेपछि अनेक षड्यन्त्रका तुनावुना बुन्न कांग्रेस, माओवादी, जनता समाजवादी पार्टी जसपा उपेन्द्र यादव पक्ष, जनमोर्चालगायतका दलहरु लागिपरेको भन्दै आक्रोस जनाउनुभयो ।

उहाँले थप्नुभयो, ‘मनमोहन अधिकारीले २०५१ सालमा वृद्धभक्ता बापत रु एक सय रुपैंयाबाट शुरु गर्नुभएको कार्यक्रमलाई केपी ओलीले चार हजार पुर्याउनुभएको, युवा नीति, शैक्षिक प्रमाणपत्रको आधारमा ऋण, युवा स्वरोजगार कोष, विदेशबाट फर्किएकालाई सहुलियतदरमा ऋण, सुरुङ युगको शुरुवात, पानीजहाज, रेलमार्ग युगको शुरुवातलगायतका असंख्य जनमूखी कार्यहरु भइरहेकाले विपक्षी दलका नेताहरुको राजनीतिक अस्थित्व समाप्तीको बाटोमा लागेकाले एमाले तथा सरकारको विरोध गरिरहेका छन् ।’

सरकारको कामबाट जनता खुसी रहेको उल्लेख गर्दै उहाँले नेपाली जनताको साथ साथै इतिहासदेखी नै पछाडी परेको भक्तपुरमा एमालेको नेतृत्वसँगै विकासले नयाँ लहर ल्याएको बताउनुभयो । एमालेका जनप्रतिनिधि निर्वाचित भएको तीन वर्षमा नै निर्वाचनको समयमा घोषणापत्रमा उल्लखे गरेको प्रतिवद्धताहरु सम्पूर्ण पुरा भइसकेको उल्लेख गर्दै अबका दिनमा जनताको आवश्यकता र चाहनालाई पुरा गर्ने दृढता व्यक्त गर्नुभयो ।