ब्यूँतियो एमाले बिवाद समाधान कार्यदल, सिंहदरबारमा बैठक सुरु

नेकपा एमालेको एकता जोगाउन गठित कार्यदल पुनः ब्युँतिएको छ । आइतवार राती अध्यक्ष केपी शर्मा ओलीले माधव नेपाल समुहका कार्यदल संयोजकसमेत रहनुभएका उपाध्यक्ष भीम रावलसँग लामो छलफल गरेपछि कार्यदल ब्यूतिएको हो ।

रावलले आइतवार प्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष ओलीसँग दुई घण्टा लामो बार्ता गर्नुभएको थियो । अध्यक्ष ओलीले आफू पार्टी एकता जोगाउनका लागि जुनसुकै तहको लचकता अपनाउने तर बिपक्षी दलका नेता शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन बुझाइएको हस्ताक्षर अदालतको फैसला आउनुअगावै फिर्ता हुनुपर्ने बटमलाइन सुनाउनु भएपछि कार्यदल बैठकबाटै सहमति खोज्ने जवाफ उपाध्यक्ष रावलले दिनुभएको थियो । सोहीअनुसार बैठकबारे बरिष्ठ नेता माधव नेपाललाई आज बिहान जानकारी गराउँदै साँझ कार्यदल बैठक तय गरिएको थियो ।

एमाले अध्यक्ष ओली र बरिष्ठ नेता नेपालले गठन गर्नुभएको १० सदस्यीय कार्यदलमा संस्थापनबाट सुवासचन्द्र नेम्वाङ र नेपाल समुहबाट रावल संयोजक हुनुहुन्छ । कार्यदलमा संस्थापनबाट बिष्णु पौडेल, शंकर पोखरेल, प्रदीप ज्ञवाली र बिष्णु रिमाल तथा माधव समुहबाट सुरेन्द्र पाण्डे, गोकर्ण बिष्ट, घनश्याम भुसाल र रघुजी पन्त सदस्य हुनुहुन्छ । कार्यदल बैठक चलिरहेकै बेला माधव समुहका २३ जना बिघटित प्रतिनिधिसभा सदस्यले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने पक्षमा हस्ताक्षर बेचेपछि बैठक नै भाँडिएको थियो । एमाले एकता जोगाउने अभियानमा लागेका दोस्रो तहका नेताहरुको दवाव र अध्यक्ष ओलीको लचकतापछि आज पुनः कार्यद्यल ब्यूँताइएको हो ।

‘लामो मेहनतको फलका रुपमा आजको कार्यदल बैठकलाई लिइएको छ, हामी आसावादी छौं, राम्रो नतिजा आउने छ,’ कार्यदल बैठक सुरु भएको जानकारी दिँदै संस्थापनतर्फका संयोजक सुवास नेम्वाङले भन्नुभयो । उहाँले केहीबेर अघि सिंहदरवारमा कार्यदलका बैठक सुरु भएको जानकारी दिनुभयो । एमालेमा सहमतिका लागि तीन बुँदे मस्यौदा तयार भइसकेको छ । सो सहमतिमा माधव नेपालसमेत सहमत हुनुभए पनि कार्यदल संयोजक रावलबाहेकका सदस्यले तयार पारेको कारण अन्तिम रुप पाउन सकेको थिएन । उपाध्यक्ष तथा कार्यदल संयोजक रावलसहितको बैठक तय भएसँगै सहमतिको अपेक्षा बढेको छ ।

रावलले सहमति जनाएको अवस्थामा माधवसमेत दायाँबाँया गर्न नसक्ने अवस्थामा रहेकोले पछिल्लो प्रयाश फलदायी बन्ने अपेक्षा कार्यदल सदस्यहरुले गरेका छन । कार्यदल सदस्य सुरेन्द्र पाण्डेले सहमति जुटाउन अन्तिम प्रयाश भइरहेको र दुवैतर्फका सदस्यहरु लचकताका साथ प्रस्तुत भएको जानकारी दिनुभयो । ‘कार्यदल फेरि ब्यूँतिएको छ, सकारात्मक नतिजाको अपेक्षा गरौं,’ पाण्डेले भन्नुभयो । जेठ ७ गतेदेखि कार्यदलको बैठक बस्न सकेको थिएन । यद्यपी त्यसयता दुवै पक्षका नेताहरु अनौपचारिक रुपमा छलफल गर्दै आएका थिए । आइतवार अध्यक्ष ओली र उपाध्यक्ष रावलको बार्तामा कार्यदल ब्यूताउने सहमति भएको थियो ।