सभापतिमा देउवाको उम्मेदवारी टुंगो लाग्यो, इतरपक्षबाट बिमलेन्द्र भिड्दै

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले १४ औँ महाधिवेशनमा फेरि नेतृत्वमा उम्मेद्वारी दिने तयारी तीव्र पारेका छन्। यसअघि अनौपचारिक रुपमा मात्रै भदौमा हुने महाधिवेशनमा सभापतिको उम्मेदवार हुने बताउँदै आएका देउवाले अब भने औपचारिक रुपमै नेताहरुलाई बोलाएर आफ्ना कुरा प्रष्टसँग भन्न थालेका छन्।

उनले प्रदेशगत रुपमा केन्द्रीय सदस्य एवं नेताहरुलाई बोलाएर आफू सभापतिमा उठ्ने जानकारी दिँदै सहयोगका लागि अनुरोध गरेका छन्। आफ्नो निवास बूढानीलकण्ठमा शनिबार देउवाले प्रदेश १ र २ का नेताहरुसँग छलफल गरेका छन्।

छलफलका क्रममा उनले आफूले फेरि पनि सभापतिमा उम्मेद्वारी दिन लागेको जानकारी दिँदै सहयोग र सुझाव दुवै मागेका थिए।

उनको सचिवालयका अनुसार देउवाले आइतबार छलफलका लागि बागमती र गण्डकी प्रदेशका केन्द्रीय सदस्य एवं नेताहरुलाई बोलाएका छन्। आइतबारको छलफलमा पनि देउवाले सहयोगका लागि आग्रह गर्नेछन्। बागमती प्रदेशका नेताहरुलाई बिहान १० बजे बोलाइएको छ।

सभापतिमा निधि आफै लड्ने


लामो समयदेखि देउवालाई साथ दिँदै आएका उपसभापति बिमलेन्द्र निधिले यसपटक आफै मैदानमा उत्रने घोषणा गरेका छन्।

यसअघि नै देउवासँग १३औँ महाधिवेशनमा गरेको प्रतिबद्धता अनुसार आफूलाई सहयोग गर्न आग्रह गरे पनि देउवाले ठोस जवाफ दिएका थिएनन्।

तर शनिबार प्रदेश २ सँगको छलफलमा देउवाले सहयोगका लागि फेरि आग्रह गरे पनि निधिले अस्वीकार गरेको सहभागी एक नेताले बताए। देउवाको आग्रहमा निधिले यसपटक आफै सभापति उठ्ने भएकाले उल्टै सहयोगका अनुरोध गरेका छन्।

निधिले नछाड्ने भएपछि यसपटक संस्थापन पक्षबाटै सभापतिका दुई जना उम्मेद्वार हुने भएका छन्। उता इतर समूहमा सभापतिका आकांक्षीहरुले धेरै हुँदा तयारी अघि बढाउन सकेका छैनन्।

संस्थापन इतर समूहबाट वरिष्ठ नेता रामचन्द्र पौडेल, शशांक कोइराला, प्रकाशमान सिंह, शेखर कोइराला, कृष्णप्रसाद सिटौलालगायत सभापतिका आकांक्षी छन्।