स्वाभिमान सिन्धुली सहयोग अभियानले संकलन गरेको राहत प्याकेज एक कार्यक्रमका बीच नेपाल रेडक्रस सोसाइटी सिन्धुलीलाई हस्तान्तरण गरेको छ ।
सिन्धुलीमाढीमा आज आयोजित राहत प्याकेज हस्तान्तरण कार्यक्रममा सिन्धुली अस्पताल विकास समितिका अध्यक्ष एवम् एमाले नेता प्रल्हाद पोखरेलले १ सय ५१ थान राहत प्याकेज रेडक्रस सिन्धुलीका अध्यक्ष अशोक श्रेष्ठलाई हस्तान्तरण गरेका हुन् ।
अभियानले सिन्धुली जिल्लाका नागरिकका लागि सिन्धुलीवासीबाटै सहयोग जुटाउने उदेश्यले समाजसेवी उज्वल विक्रम थापा, सिन्धुली अस्पताल विकास समितिका अध्यक्ष पोखरेल, समाजसेवी इन्द्र भुजेललगायतको समूहले यो अभियानको थालनी गरेका हुन् ।
राहत प्याकेज हस्तान्तरण कार्यक्रमलाई संक्षिप्त रुपमा सम्बोधनगर्दै अध्यक्ष पोखरेलले सरकार र दाताहरुको मुख ताक्नु भन्दा आफ्नो जिल्लाका नागरिकहरुका लागि हामी आफैंले सहयोग गर्नुपर्छ भन्ने उदेश्यले समाजसेवी उज्वल थापा र आफ्नो छलफलपछि अभियानको थालनी गरिएको बताएका थिए । उनले अगाडि भनेः विपद् हाम्रै अगाडि अगाइरहेको छ, तर कतैबाट पनि त्यसको तयारी नदेखेपछि हामीले यो अभियान थालनी गरेका हौं, यसमा जिल्लाका सबै मनकारी बुबा आमा दाजु भाई र दिदी बहिनीहरुले सहयोग गर्नुभएको छ ।

कार्यक्रममा अभियानमा सक्रिय रहेका भुजेल, प्रमुख जिल्लाअधिकारी सुरेश न्यौपाने, प्रहरी उपरिक्षक गोविन्द थपलियालगायतको उपस्थिति रहेको थियो ।
आज रेडक्रसलाई बुझाईको राहत प्याकेजमा १० किलो चामल, २ किलो दाल, नुन १ किलो, तेल १ लिटर र एक प्याकेट मस्यौरा रहेको अभियानका सदस्यसमेत रहेका इन्द्र भुजेलले जानकारी दिए ।
