जसपा बिवादमा निर्वाचन आयोगको अन्तिम फैसला, महन्थ र उपेन्द्र समुहलाई दियो यस्तो आदेश

निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) का दुबै पक्षले एक अर्कामाथि गरेको कारवाहीलाई अमान्य घोषित गरेको छ । दुवै पक्षको विवरण अद्यावधि गर्न निर्वाचन आयोगलाई दिएका निवेदनमाथि आज आयोगले फैसला सुनाउँदै अमान्य घोषित गरेको हो । आयोगले जसपाका अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादव दुबै पक्षले गरेको कारवाहीलाई कानूनसम्मत नदेखिएको भन्दै दुई अध्यक्ष रहने गरी पुरानै पदाधिकारीहरु कायम रहने फैसला सुनाएको हो ।

प्रमुख निर्वाचन आयुक्त दिनेश थपलिया र आयुक्तहरु जानकी कुमारी तुलाधर, रामप्रसाद भण्डारी र ईश्वरी प्रसाद पौड्यालको संयुक्त निर्णयका रुपमा निर्वाचन आयोगले जसपाका दुबै पक्षको निवेदनलाई खारेज गरेको छ । ‘एकजना अध्यक्षको हस्ताक्षरबाट राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ५१ वमोजिम विवरण अद्यावधिक गरिदिन भनी जनकारी गराएको विषयलाई कानून र दलको विधानसम्मत मान्न मिलेन,’ आयोगले भनेको छ, ‘पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्काशन गरी अद्यावधिकका लागि अनुरोध भई आएकोमा माग वमोजिम… अद्यावधिक गर्न मिलेन ।’

पछिल्लो समय जसपाका अध्यक्ष यावद र नेता राजेन्द्र महतो पक्षधर प्रधानमन्त्री केपी शर्मा ओलीलाई साथ दिएर सरकारमा सहभागी भएको छ भने उपेन्द्र यादव समुह देउवा र प्रचण्ड नेतृत्वको कम्फर्टेवल सरकार निर्माणको पक्षमा उभिएको छ । यही बिवादले जसपाको दुवै पक्षले एक अर्कामाथि कार्वाही गरी आयोगमा बिवरण अद्यावधिक गर्न निवेदन दिएको थियो । आयोगले तात्कालिन नेकपाकै जसरी दुवै पक्षको माग खारेज गरेको छ ।