सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले आकस्मिक सचिवालय बैठक केही समय अगाडि सकिएको छ । मन्त्रिपरिषद्ले दल फुटाउनका लागि सजिलो पार्ने प्रावधानसहित अध्यादेश ल्याएपछि नेकपाको सचिवालय बैठक बालुवाटारमा चलिरहेको बेला राष्ट्रपतिले अध्यादेश जारी गरेपछि बैठक बस्नुको औचित्य समाप्त भयो भन्दै सचिवालयका बहुमत सदस्यहरुले नबसौं भनेपछि रोकिएको थियो ।
बैठकमा सदस्यहरुले मन्त्री परिषदको पछिल्लो निर्णयले पार्टी र सरकारलाई कमजोर बनाएको र त्यसले प्रतिगमनकारीलाई फाइदा पुग्ने भन्दै प्रधानमन्त्रीको आलोचना गरेको स्रोतले बताएको छ ।
सरकारले सोमबारै राजनीतिक दल र संवैधानिक परिषद् सम्बन्धी अध्यादेश राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो । पार्टीमा छलफल नगरी अध्यादेश ल्याएपछि नेकपाले सचिवालयको आकस्मिक बैठक बोलाएको थियो ।
बालुवाटारमा बैठक चलिरहेको बेला राष्ट्रपतिले अध्यादेश जारी गरेपछि बैठकले कुनै निर्णय गर्ने अबस्थानै आएन, प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रदेशखबरसँगको जिज्ञासामा भने । नेता श्रेष्ठले यस विषयमा पार्टीमा नेतृत्वका बीच थप छलफल हुने बताए ।
उनले भने,‘ दल विभाजनसम्बन्धी अध्यादेश पार्टीको राजनीतिको गम्भीर र महत्वपूर्ण विषय भएकाले आकस्मिकरुपमा सचिवालय बैठक बसेको हो। यसअघि त्यसबारे कुनै पनि छलफल भएको थिएन। बैठकमा सबै कमरेडहरुले यस बिषयमा सबैले गम्भीरतापूर्वक आआफ्ना विचारहरु राख्नु भयो।’
प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक दल फुटाउन सजिलो प्रावधान राखेर आजैको मन्त्रिपरिषद्को बैठकमार्फत अध्यादेश ल्याएपछि अर्का कार्यकारी अध्यक्ष प्रचण्डले बैठक बोलाएका हुन् ।