तत्कालिन नेकपा माले सम्बद्ध अनेरास्ववियुबाट विद्यार्थी राजनीतिमा प्रवेश गर्नुभएको शान्ता पाख्रिन सिन्धुलीको बामपन्थी र महिला आन्दोलनको मोर्चामा अग्रणी स्थानमा पर्नुहुन्छ । जनज्योति माध्यमिक विद्यालय भिमानमा अखिलको कमिटीमा आवद्ध रहनुभएकी उहाँमा तत्कालिन नेता ऋषिराज देवकोटा आजादको राम्रो प्रभाव रहेको छ । तत्कालिन नेताहरु देवकोटा, विद्यार्थी नेताहरु गंगा बराल, लेखवहादुर थापा, रमेश देवकोटा, बुद्धि बस्नेतले तत्कालिन पञ्चायती व्यवस्थाले गरेको आतंक र ज्यादतिका विरुद्ध संगठित गराउन भूमिका खेलेको उहाँको निश्कर्ष छ । धनकुटा क्याम्पसमा प्रारभिक कमिटीमा रहेर काम गर्नुभयो । पढाई सकेर सिन्धुली फर्किएपछि शिक्षण पेशामा संलग्न हुनुभयो । त्यही क्रममा शिक्षक संगठनको जिल्ला उपाध्यक्ष बन्नुभयो । संगठनको केन्द्रीय प्रतिनिधी, अखिल नेपाल महिला संघ जिल्ला सचिव, नेकपा एमाले कमलामाई नगरकमिटीको (देशकै पहिलो महिला) अध्यक्ष बनेर पार्टी र संगठनको कामलाई व्यवस्थित ढंगले अगाडि बढाउनुभयो ।
पार्टी र संगठनलाई विधी, पद्धतिबाट मात्रै सञ्चालन गर्नु पर्छ भन्ने कुरामा दृढ मान्यता राख्ने पाख्रिन सिन्धुली युवा संघ नेपालको (देशकै पहिलो महिला) अध्यक्ष, युवा महिलाको जनकपुर अञ्चल सम्पर्क समितिको अध्यक्ष र तीन पटकसम्म जिल्ला पार्टीको सदस्य भएर काम गर्नुभयो भने नेकपा एमाले र माओवादी केन्द्र बीचको एकतापछि उहाँ प्रदेश सल्लाहकार परिषद सदस्य बन्नुभयो । पार्टी विभाजनपछि नेकपा समाजवादीको केन्द्रीय सदस्य बन्नुभएकी पाख्रिन माधव नेपालले पार्टी बिभाजनको औचित्य पुष्टि गर्न नसकेको र उहाँ अहिले दक्षिणपन्थीहरको गोटी बन्न थालेको प्रष्ट पार्नुभयो । अहिले नेपाली कम्युनिष्ट आन्दोलनको मूल प्रवाह नेकपा एमाले र त्यसको नेतृत्व कमरेड केपी ओलीनैं सच्चा नेता भएको निश्कर्ष निकाल्दै आफ्नो पुरानो घर नेकपा एमालेमैं फर्कनु भएकी नेतृ शान्ता पाख्रिनसँग सन्देश जनप्रियले लामो कुराकानी गरेको छ । सोही कुराकानीको सम्पादित अंशः
सिन्धुलीको कम्युनिष्ट आन्दोलनलाई कसरी मूल्यांकन गरिरहनु भएको छ ?
सिन्धुलीको बामपन्थी आन्दोलन विभिन्न समूहका नाममा उठान भएको र पछि एकिकृत हुँदै यो अबस्थासम्म आइपुगेको हो । सिन्धुलीको कम्युनिष्ट आन्दोलनलाई बलियो र एकताबद्ध रुपमा अगाडि बढाउन हाम्रा अग्रजहरुले निकै ठूलो त्याग र बलिदानी गर्नु भएको छ । विगमा हाम्रा अग्रजहरुले सिन्धुलीको कम्युनिष्ट आन्दोलनलाई सही दिशाबाट अगाडि बढाउनुभयो भने केही नेतृत्वले पञ्चायती सत्ताको तावेदारी गरेको पनि देखियो । पछि उहाँहरु पार्टीको नियन्त्रणभन्दा बाहिर पुगेको र केही नेतृत्व इमान्दार भएर पार्टी निर्देशनमा रहेर काम गरेको मैंले बुझेकी छु । लामो इतिहास र कालखण्ड बोकेर अहिलेको अबस्थामा आइपुगेको सिन्धुलीको कम्युनिष्ट आन्दोलन अहिले एकिकृत रुपमा नेकपा एमालेको नाममा अगाडि बढिरहेको छ र यो अहिलेको कम्युनिष्ट आन्दोलनको केन्द्रको रुपमा विकास भएको छ । यो आन्दोलन सकारात्मक दिशाबाट अगाडि बढिरहेको मैंले देखेकी छु ।
अहिलेकै अबस्थाले सिन्धुलीको कम्युनिष्ट आन्दोलन सही ठाउँमा पुग्छ जस्तो लाग्छ ?
हामीले एउटा राजनैतिक कोर्ष पुरा गरेर अहिलेको अबस्थामा आइपुगेका हौं । हामीले राजनैतिक क्रान्ति सफल भएकाले पनि अब आर्थिक क्रान्ति सम्पन्न गर्ने र त्यसैको जगमा टेकेर समाजवादी बाटो तर्फ जानुपर्ने छ । हामी भित्र फरक फरक मनोबिज्ञान छ । ठूलो पार्टीमा छलफल हुन्छ, बहस हुन्छ, बहमा सबैजनाको संलग्नता हुन्छ तर पार्टीले जे निर्णय गर्छ त्यसैलाई एकमना एकताका साथ बोकेर हिंड्ने गरेका छौं । कोही कसैले बाहिर के भन्छ भन्ने कुरा हैन । पार्टीको मूल कुरालाई बोक्ने र कार्यकर्ताको तहमा लैजाने मूल दायित्व हाम्रो हाम्रो भएकाले पनि एकाध कमी कमजोरीका बावजुद सिन्धुलीको कम्युनिष्ट आन्दोलन अगाडि बढिरहेको छ । नेकपा एमालेको मूल नेतृत्व कमरेड केपी शर्मा ओली र पार्टीको स्पिडलाई अगाडि बढाएर लगेपछि मात्रै सिन्धुलीको कम्युनिष्ट आन्दोलनले सही मार्ग पहिल्याउने छ ।
तपाईले समाजवादी यात्रा तय गर्ने कुरा गर्नुभयो । शहिद ऋषिराज देवकोटा, दुर्गा सुवेदी, दलवहादुर रजन मगर र शेरमान कुँवर जस्ताले रगत बगाएको सिन्धुलीले उहाँहरुको पदचापलाई पछ्याउँछ त ?
सिन्धुलीको कम्युनिष्ट आन्दोलन मूल रुपमा शहिदहरुले देखाउनुभएको आदर्श र मूल्य मान्यताबाटै अगाडि बढेको छ । शहिलहले जुन सपना देख्नु भएको थियो त्यो सपना थोरै भएपनि जनआन्दोलनका बलमा पुराभयो । शहिलहरुको बलिदानीकै कारणले मूलुकमा निरंकुश राजतन्त्रको समूल अन्त्य, संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना भएको तथ्यलाई हामीसबैले राम्ररी बुझ्नु पर्छ । इतिहास र योगदानलाई विर्सेर, नेतृत्वले गर्नुभएको संघर्षलाई लिपिवद्ध गरेर मात्रै हामी हाम्रो लक्ष्यमा पुग्न सक्छौं । अग्रजको सम्मान गर्न सकेनौं, शहिदहरुले देखाउनुको आदर्श र मान्यतालाई स्थापित गर्न सकेनौं भने हामी कम्युनिष्ट पार्टीको नेता कार्यकर्ता हुनेको अर्थ पनि रहँदैन । त्यसले म प्रष्ट भन्न चाहान्छु कि सिन्धुलीको बाम तथा प्रजातान्त्रिक आन्दोलन अहिले पनि अग्रज शहिदहरुले देयाउनुभएको बाटोबाटै अगाडि बढिरहेको छ ।
प्रसंग बदलौं, तपाई केही समय अगाडि नेकपा (समाजवादी) छोडेर आफ्नै पुरानो घर (नेकपा एमाले) मा फर्किनुभयो, त्यसको खास कारण के हो ?
तत्कालिन नेकपा नेतृत्वको सरकार निर्माणपछि पार्टी भित्र बढेको असमझदारीका क्रममा नेपाली जनताको चाहना बिपरित देशी विदेशी शक्तिले सिंगो पार्टीलाईनैं संकटमा धकेल्यो । म जस्ता धेरै साथीहरु त्यसैको पछाडी लाग्यौं । कथित विधी पद्धतिका नाममा पार्टी नेता माधवकुमार नेपालले सिंगो पार्टीमा बिभाजन ल्याउने जुन प्रयास गर्नुभयो, त्यो कुरा गलत थियो । मैंले बैठकमा पटक पटक पार्टी विभाजनको औचित्य पुष्टि गर्न कुरा उठाउँदै आएँ । अलग पार्टी निर्माण गरेर अगाडि बढ्दा पनि व्यक्तिगत कुण्ठाले माधव नेपालले नेतृत्वको पार्टीले कम्युनिष्ट आन्दोलनको नेतृत्व गर्न सक्तैन । उहाँमा बढ्दै गएको कुण्ठाले नेपाली कम्युनिष्ट आन्दोलनलाई क्षति मात्रै पुर्याउने र सो पार्टीनैं समाप्त हुने दिशातिर अग्रसर भएकाले पनि सो पाटी छोडेर पुरानै घरमा फर्केकी हुँ । त्यहाँ जानु मेरो पनि त्रुटी भयो । लामो कालखण्ड दुःख गरेर निर्माण गरेको मेरो आफ्नै घरमा फर्केर फेरी पनि त्यही घरलाई बलियो बनाउने उदेश्यले म एमालेमै समाहित भएकी हुँ । मेरो कुनै स्वार्थ छैन र कसैको पद खोस्न पनि आएकी हैन भन्ने कुरालाई सबै साथीहरुले बुझ्न जरुरी छ । नेपालको कम्युनिष्ट आन्दोलनको मूल प्रवाह भनेको नेकपा एमालनैं हो र त्यसको मूल नेतृत्व केपी ओलीनैं हुनुहुन्छ भन्ने मेरो निश्कर्ष हो ।
त्यसो भए अब माधव नेपालको समाजवादी पार्टी सकिएकै हो त ?
मैं अगाडिनैं बताइसकेको छु, कि अब माधव नेपाल नेतृत्वको नेकपा एस पार्टी होइन, एउटा समूहका रुपमा रहने छ । पार्टीनैं समाप्त त नहोला तर सानो समूहका रुपमा आविजन अध्यक्ष बनेर उहाँ बस्नुहुन्छ । उहाँको कुरा सुनेर मजस्ता धेरै साथीहरु उहाँको पछाडि लाग्यौं, अहिले उहाँको असली कुरा सबैले बुझेर पुरानै घर नेपा एमालेमा फर्किएका छन् । अब सो पार्टीलाई विघटन हुनबाट कसैले रोक्न सक्तैन ।
यतिबेला नेकपा एमालेले जरा केन्द्रीत अभियानको थालनी गरेको छ । यो अभियानले एमाले बलियो पार्टी बन्छ भन्ने लाग्छ तपाईलाई ?
हाम्रो पार्टीका श्रद्धेय अध्यक्ष कमरेड केपी शर्मा ओलीले पटक पटक भन्दै आउनु भएको छ । पार्टी भित्र सांगठानिक अराजकता बढ्यो, त्यसलाई नियन्त्रण गरेर अगाडि बढ्नु पर्छ । हामी भन्ने लेनिनवादी सांगठानिक पद्धतिलाई मान्ने भन्ने तर पार्टीले तोकेको जिम्मेवारी बाहेक सबै पुरा गर्ने अनि अबसरका लागि तँछाड मछाड गर्ने प्रवृत्तिलाई कुनै पनि अबस्थामा नियन्त्रण लिनैपर्छ । पार्टी भित्र विगमा भएका निर्वाचन वा अधिवेशनका केही तुसहरु बाँकी रहन सक्छन् । त्यो विषय होइन, हारेकालाई सँगैसँगै एकाकार गरेर लैजाने र जितेका लाई सहयोग गर्ने हाम्रो संस्कार र संस्कृति हो । हामीकहाँ हुर्केको तिरस्कारको प्रवृत्तिलाई समयमै नियन्त्रण लिन र पार्टीले लिएको मूल लक्ष्य मुलुकलाई सम्बृद्धिको दिशाबाट अगाडि बढाउन मिसन ८४ को कामलाई घनिभूत तरिकाले गाउँ गाउँमा पुर्याउन र एमालेले लिएको विकास र सम्मृद्धिको लक्ष्यमा सबैलाई एकाकार पार्न अहिले थालिएको जरा केन्द्रीय अभियानले महत्वपूर्ण भूमिका खेल्ने मैंले देखिरहेको छ ।
पार्टी र संगठनले दिएका जिम्मेवारीहरु पुरा नगर्ने, पार्टीको मूल नेतृत्व र स्पिरिटका बिरुद्ध गतिविधी गर्ने कामहरुलाई नियन्त्रणमा लिन र पार्टी काममा लाग्नु भएका नेता कार्यकर्ताको कार्यसम्पादन मूल्यांकन गर्नेछ । पुराना नेता कार्यकर्ताहरु अहिले पनि निश्क्रिय हुनुहुन्छ, जसले पार्टी निर्माणमा योगदान गरेकाहरुलाई फेरी पार्टीमा जोड्न वा फर्काउन सहयोग गर्नेछ । अब पार्टीले कसैलाई लाखा पाखा गर्दैन र सबैको मूल्यांकन गर्छ त्यही कारणले पनि सबै नेता कार्यकर्ता र आम नागरिकलाई एमालेको अभियानमा जोडिन अपील पनि गर्दछु ।
अबको एमाले कस्तो हुनुपर्छ ?
अबको एमाले नेपाली कम्युनिष्ट आन्दोलनको मूल प्रवाह, विधि, पद्धति मान्ने, लेनिनवादी सांगठानिक पद्धतिलाई अंगीकार गर्ने स्ट्रङ, जनताको आशा र भरोसाको केन्द्रका रुपमा स्थापित हुनुपर्छ । पार्टी विधानले निर्दिष्ट गरेका कामहरुलाई पुरा गर्ने तथा मार्क्सवाद, लेनिनवाद र जनताको बहुदलीय जनवादको आलोकमा विकास सम्मृद्धिसहित समाजवादको लक्ष्य पुरा गर्ने एमाले बन्नुपर्छ । जनताको नजरमा नेकपा एमाले मात्रै जनप्रिय, देशप्रिय छ है भन्ने भाष्य स्थापित गराउने खालको बन्नु पर्छ । श्रद्धेय पार्टी अध्यक्ष कमरेड केपी ओलीले देख्नु विकास र सम्मृद्धिको सपनालाई पुरा गराउने अठोट र संकल्प भएका इमान्दार नेता कार्यकर्ताहरु यो अभियान पुरा गराउन साथ सहयोग गर्ने काममा सम्पूर्ण एमाले जनले सहयोग गर्नुपर्दछ ।
