नेपालको राजनैतिक संकटबारे सेनाले मुख खोल्यो:‘अहिलेको संकट राजनीतिक रुपमै समाधान हुन्छ’

प्रधानसेनाापति पूर्णचन्द्र थापाले अहिलेको राजनीतिक संकट राजनीतिक बाटोबाटै सुझबुझपूर्ण तरिकाले समस्या सुल्झन्छ भन्ने आफ्नो विश्वास रहेको बताएका छन्।

आफ्नो कार्यकालको १००० दिन पुगेको अवसरमा जंगीअड्डामा आइतबार आयोजित कार्यक्रममा प्रधानसेनापति थापाले राजनीतिक समस्याको संवैधानिक निकास नै होस् भनी आफूले चाहेको बताए। ‘हामी अहिलेको घटनाक्रमलाई नजिकबाट नियालिरहेका छौँ,’ उनले अहिलेको घटनाक्रमबाट सेना जानकार रहेको पनि पत्रकार भेटघाटका क्रममा बताए।

उनले सेनालाई कमजोर नसम्झन र विगतमा सेनाको गौरवपूर्ण इतिहास सम्झन पनि सबैसँग अनुरोध गरेका छन्।

उनले आफ्नो १००० दिनको कार्यकालको आफूलाई पछुतो नरहेको पनि बताए। उनले आगामी भदौ २६ मा आफ्नो अवकाश हुने र अहिल्यैदेखि त्यसको तयारी सुरु भएको पनि बताए।

उनले सेना हिरोइजम देखाउने ठाउँ नभएको र आफूले पनि ठाउँ नपाएर हिरोइजम नदेखाएको नभई हिरोइजम युद्धभूमिमामात्र ठीक हुने बताए। ‘मैले हिरोइजम देखाउने ठाउँ नभएर हिरोइजम नदेखाएको होइन,’ उनले भने।

उनले आफूले कार्यकालको सुरुमा सञ्चालन गरेको ‘प्रधानसेनापतिसँग सेना’ कार्यक्रममा १०० वटासम्म प्रश्न आउने र पछिल्लो समयमा ६ वटा प्रश्नमा सीमित भएको बताए।

त्यस्तै, उनले सीमामा जाने आफ्नो अधिकार नहुने  र सीमाका गतिविधिहरुलाई नियालिरहेको  बताए। ‘सीमामा जाने हाम्रो अधिकार हुँदैन। निश्चित अवस्थामा मात्र सेना सीमामा जान्छ। तर, त्यहाँका गतिविधिहरुलाई नियालिरहेका छौँ,’ उनले भने।