कमलामाई नगरपालिका कार्यालयको आर्थिक लगानीमा सिन्धुलीगढी प्रबेशद्वार सोलाभञ्ज्याङमा निर्माण गरिएको लाखौंको भौतिक संरचना प्रयोगमा नआउदै भत्किएको छ ।
कमलामाई नगरपालिका कार्यालयको सिन्धुलीगढी पुर्वाधार बिकास कार्यक्रम अन्तर्गत २०७७ असार ३० गते निर्माण कम्पनी त्रिवेणी लाफा कन्ट्रक्सन प्रालि कामनपा–१५ सँग कुल ९२ लाख ७८ हजार ७ सय ७९ मा सम्झौता भई ३ वटा ब्यापारिक सटर र ट्वाइलेट निर्माण गरिएको थियो । तर उक्त सटर र ट्वाइलेट कमलामाई नगरपालिकाले भाडामा लगाउन नपाउदै भत्किन पुगेको छ ।

कमलामाई नगरपालिका प्राविधिकले गुणस्तरिय संरचना निर्माणमा ध्यान नदिएको र ठेकेदार कम्पनीको लापरबाहिका कारण लाखांै खर्चिएको संरचना प्रयोगमा नआउदै भत्किन पुगेको देखिएको छ ।
लाखौंमा निर्माण सम्पन्न भएको भनिएको संरचना भत्किएको विषयमा प्रतिक्रिया दिंदै कमलामाई नगरपालिका कार्यकारी अधिकृत विषकशेन ढकालले ठेकेदार कम्पनीले निर्माणसम्पन्न भएको बताएपनि ह्याण्डओभर नगरेकाले गुणस्तरीय संरचना बनाउन लगाउने बताए । उनले निर्माणाधिन संरचना भत्केको भए त्यस्ता संरचना नगरपालिकाले जिम्मा नलिने र मर्मत गर्न लगाउने बताए ।
त्यसैगरी निर्माणाधिन कमलामाई नगरपालिका वडा नं. ३ का वडाध्यक्ष खड्ग चौलागाईले लाखौं रकम खर्चेर निर्माण गरिएको क्षेत्र कमजोर रहेको र आफुले पटक पटक गुणस्तरिय संरचना बनाउन आग्रह गर्दा ठेकेदार पक्षले सुनुवाईनैं नगरेको बताए । उनले गुणस्तरहिन संरचना बनाएका कारण प्रयोगमा नआउँदै आँगन र ट्वाइलेटसमेत भत्किएको बताए । नगरपालिकाकै काम भएकाले हुनसक्छ, गुणस्तरिय काम भएन भन्दा पनि सुनुवाई नगरेको, वडाध्यक्ष चौलागाईले प्रदेशखबरसँग भने ।
यसैबीच अबिरल रुपमा परेको वर्षाका कारण निर्माण सम्पन्न भएको भनिएको सिन्धुलीगढी युद्ध सिंग्राहालयमा पनि क्षती पुगेको छ । त्यस क्षेत्रमा क्षति भएका संरचनाको बनाउने काम जारी रहेको ठेकेदार कम्पनीले जनाएको छ ।

अशोक ठकुरी, सिन्धुलीगढी











