मरिणः कपिलाकोट माध्यमिक विद्यालयमा अध्ययनरत पूर्व विद्यार्थी समाजले आज कोरोना संक्रमणबाट नागरिकलाई जोगाउन भन्दै मरिण गाउँपालिकालाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ ।
गाउँपालिका कार्यालय कपिलाकोटमा आयोजित स्वास्थ्य सामाग्री हस्तान्तरण कार्यक्रममा पूर्व विद्यार्थीहरुले आइसोलेसन किट २ सय थान, पल्स अक्सिमिटर १० थान, अक्सिजन सिलिण्डर १० थान, बेड सेट ८ थान, अक्सिजन माक्स ८ थान, अक्सिजन रेगुलेटर ८ थान, पिपिई सेट ५ थान र माक्स ५ हजार थान गाउँपालिका अध्यक्ष पानीराज बम्जनलाई हस्तान्तरण गरेका थिए ।

कपिलाकोट माध्यमिक विद्यालयमा अध्ययनरत विभिन्न पेशा व्यवसायमा संलग्न भएकाहरुले सामाजिक सञ्जाल मार्फत सो सहयोग जुटाएका हुन् । उनीहरु आवश्यक्ताका आधारमा थप सहयोग गर्दैजाने पनि बताए ।

स्वास्थ्य सामाग्री बुझेपछि संक्षिप्त कुरागर्दै गाउँपालिका अध्यक्ष बम्जनले कोरोना संक्रमणले त्रसित बनिरहेका नागरिकहरुका लागि पूर्व विद्यार्थी समाजले उपलव्ध गराएको स्वास्थ्य सामाग्री अत्यन्त उपयोगी हुने बताए । उनले गाउँपालिकामा कोरोना संक्रमण चैत बैशाखको डढेंलेझैं सल्किरहेको र सबै नागरिकलाई अत्यन्त सचेतता पूर्वक आफ्नैं घरमा बस्न र अनावश्यक घर बाहिर ननिस्कन आग्रहसमेत गरेका थिए ।
पूर्व विद्यार्थी समाजले उपलव्ध गराएको अक्सिजन, बेड, अक्सिमिटर र अन्य स्वास्थ्य सामाग्री आवश्यक्ताका आधारमा वितरण गर्न स्वास्थ्य शाखालाई निर्देशन पनि दिए । उनले कोरोना रोकथाम र नियन्त्रणका लागि गाउँपालिकामा क्रियाशिल सबै राजनैतिक दल, नागरिक समाज र व्यवासायीहरुसँग गाउँपालिका हातेमालोगर्दै अगाडि बढिरहेको पनि सो अबसरमा बताएका थिए । स्मरणीयछ मरिण गाउँपालिकामा अहिलेसम्म ३ जनाले कोरोना संक्रमणबाट ज्यान गुमाईसकेका छन् ।