प्रदेशसभा सदस्यकाे कारले ठक्कर दिँदा एककाे मृत्यु, कारमा रहेका छाेरा र युवती फरार

नेपाली कांग्रेस प्रदेश १ की प्रदेशसभा सदस्य विन्दिया कार्कीका छोरा रोविन कार्की चढेको गाडीको ठक्करबाट विराटनगरमा एक जनाको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार विराटनगर महानगरपालिका ४ स्थित विमानस्थल सडकमा बिहीबार राति करिब पौने ८ बजे रविनसहित अन्य दुई युवती सवारी कार दुर्घटनामा पैदलयात्री मुकेश शर्माको मृत्यु भएको हो।

मोरङ प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक मानबहादुर राईका अनुसार घटनामा भारतीय नागरिक ३५ वर्षीय शर्माको मृत्यु र अर्का २४ वर्षीय रामकुमार राजवंशी गम्भीर घाइते भएका छन्।

राजवंशी कटहरी गाँउपालिका निवासी हुन्। दुवै जना स्थानीय एक एभरेष्ट फर्निचर उद्योगमा कार्यरत श्रमिक हुन्। बेलुका काम सकेर घर फर्कने क्रममा सो दुर्घटना भएको हो।

विमानस्थल सडकको पूर्वबाट पश्चिमतर्फ जानेक्रममा प्रदेश सभासदस्य कार्कीको प्र ३–०१–००२ च २१३९ नम्बरको कारले पैदलयात्रीलाई ठक्कर दिएको थियो। प्रवक्ता राईका अनुसार दुर्घटनामा गम्भीर घाइते भएका शर्मालाई उपचारका लागि कोशी अस्पतालमा पुर्‍याएलगत्तै  चिकित्सकले मृत घोषित गरेका थिए।

प्रदत्यक्षदर्शीका अनुसार कारमा कार्कीका छोरा रोविन र अन्य दुई युवती थिए। प्रहरीले कार चलाउने कार्की नै रहेको वा अन्य कोही थिए भन्ने यकिन गर्न बाँकी रहेको जनाएको छ।

प्रवक्ता राईका अनुसार घटना लगत्तै कार्की फरार भएको र उनको खोजी तीव्र पारिएको छ। प्रत्यक्षदर्शीका अनुसार प्रदेशसभा सदस्य कार्कीको कार उनकै छोरा राेविनले चलाएका थिए। दुर्घटनालगत्तै कार्कीसहित कारमा रहेका दुईजना युवती भागेका प्रत्यक्षदर्शीले बताएका छन्।