फ्रान्सले नेपाललाई कोरोना भाइरसविरुद्धको अभियानका लागि अत्यावश्यक स्वास्थ्य सामग्री सहयोग स्वरुप उपलब्ध गराएको छ। फ्रान्सले उपलब्ध गराएको सात टन सहयोग सामग्री लिएर कार्गो विमान बुधबार काठमाडौँ आएको हो।
मास्क, एन्टीजेन टेस्ट किट, भेन्टिलेटर तथा भाइजरसहितका सामग्री फ्रान्सले नेपाललाई सहयोग स्वरुप दिएको हो। नेपाल सरकारले सहयोगका लागि गरेको अपील अन्तर्गत फ्रान्सले अत्यावश्यक सामग्री पठाएको हो।
पाँच लाख चार हजार एफएफपी २ मास्क, २० हजार २२५ एन्टीजेन टेस्ट किट, १२ हजार थान प्रोटेक्सन ग्लासेज, ९ वटा ओसिरिस तेस्रो रेस्पिरेटर र कन्सुम्बल तथा पाँचवटा सिरिअस ५० रेस्पिरेटर र कन्सुम्बल फ्रान्सले नेपाललाई प्रदान गरेको हो।
यी सामग्री स्वास्थ्य मन्त्री हृदयश त्रिपाठीलाई नेपालका लागि फ्रान्सेली राजदूत फ्रान्कोइस–जेभियर लेगेरले हस्तान्तरण गरेका हुन्। त्रिभूवन विमानस्थलमा भएको हस्तान्तरण समारोहमा जर्मनी तथा फिनल्याण्डसहित युरोपियनका कूटनीतिज्ञको पनि उपस्थिति थियो।
फ्रान्सले नेपालसँगको सम्बन्धलाई प्राथमिकतामा राखेको र कोरोना भाइरसविरुद्धको अभियानका लागि थप सहयोग गर्न प्रतिबद्ध रहेको फ्रान्सेली राजदूतले बताएका छन्। स्वास्थ्यमन्त्री त्रिपाठीले सहयोगका लागि धन्यवाद दिएका थिए।











