कोरोना भाइरस: एक्वडोर जहाँ एकै रातमा ५,००० जनाभन्दा बढीको मृत्यु दर्ता भयो

ग्वायाकिलमा अलपत्र शव

कोरोनाभाइरस सङ्क्रमणको महामारीबाट नराम्ररी प्रभावित बनेको एक्वडोरको ग्वाएआस क्षेत्रमा मृत्यु हुने व्यक्तिको अभिलेख जाँचिदा एउटा भयावह तथ्य थाहा भयो।

एप्रिल महिनाका मध्यमा आई पुग्दा मृत्यु हुनेको सङ्ख्या ६,७०० भएको देखियो। पुरानो तथ्याङ्कसँग तुलना गर्दा यो सङ्ख्या ५,००० भन्दा बढी हो।

मृतकको सङ्ख्याले ग्वाएआस राज्यलाई देशको मात्रै नभई पूरै ल्याटिन अमेरिकाकै सबैभन्दा बढी कोरोनाभाइरस प्रभावित क्षेत्र बनाएको छ।

निर्माणस्थलामा काम गर्दै एक मजदुर

अनि यो केवल कोभिड-१९ बाट भएको मृत्यु मात्रै होइन।

महामारीका कारण अन्य स्वास्थ्य समस्या भएका र तत्काल उपचारको आवश्यकतामा रहेका बिरामीहरूले उपचार नपाएका कारण पनि मृत्यु हुनेको सङ्ख्या बढेको स्थानीय स्वास्थ्य अधिकारीहरू बताउँछन्।

ग्वायाकिल – मृतहरूको सहर

शवगृहमा काम गर्ने कामदार

“हामीले मरेका मानिसहरू कार, एम्बुलेन्स, घर र सडकमा भेटेका छौँ,” ग्वायाकिलस्थित शवगृहमा कार्यरत एक कर्मचारीले भनिन्।

“उनीहरू अस्पतालमा भर्ना नहुनुको एउटा कारण बिरामी राख्ने शय्याको अभाव पनि हो। निजी क्लिनिकमा उनीहरू गए भने पैसा तिर्नुपर्छ र सबैले उपचारका लागि खर्च गर्न सक्दैनन्,” उनले भनिन्।

पच्चीस लाख जनसङ्ख्या रहेको यो सहर कोरोनाभाइरसबाट प्रभावित हुँदा शवगृहहरू थेग्नै नसक्नेगरी भरिएका छन् भने धेरैजसो बन्द भएका छन्। कर्मचारी नै सङ्क्रमित हुन सक्ने डरका कारण ती शवगृह बन्द भएका हुन्।

केही आफन्तहरूले घरबाहिर शव छोडेका छन् भने अन्यले ओच्छ्यानमै त्यत्तिकै छोडेका छन्। धेरै दिनदेखि तिनको अन्तिम संस्कार हुन सकेको छैन।

ग्वायाकिलमा शव समाधिस्थ गर्न ठाउँ नपुगेकाले छिमेकी नगरहरूमा लैजाने गरिएको छ।

चरम माग भएकाले कार्डबोर्डको शवपेटिका प्रयोग हुन थालेको छ। स्थानीय कैदीहरूले पनि काठका शवपेटिका बनाइरहेका छन्।

सङख्यामा वृद्धि

एक्वडोरका राष्ट्रपति लेनिन मोरेनोले देश विद्यमान स्वास्थ्य सङ्कटसँग सङ्घर्ष गर्न विफल भएको स्वीकार गरेका छन्।

एप्रिल १६ तारिखसम्म सरकारले देशभरि कोरोनाभाइरसका कारण जम्मा ४०० जनाको मृत्यु भएको भनी आश्वस्त पार्दै आएको थियो।

तर कोरोनाभाइरसको रोकथाम र नियन्त्रणका लागि बनेको संयुक्त कार्यदलले तथ्याङ्कको जिम्मा लिएपछि एकदमै फरक दृश्य देखा पर्‍यो।-बीबीसी