अमेरिकाको सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सन सिडिसीले कोभिडविरुद्धको पूर्ण खोप लगाएकाले अब मास्क लगाइराख्नु नपर्ने जनाएको छ। घरभित्र होस् या बाहिर पूर्ण रूपमा खोप लगाएकाले मास्क लगाउनु नपर्ने सिडिसीले जनाएको हो। त्यसैगरी सिडिसीले पूर्ण खोप लिएकाले सामाजिक दुरी पनि कायम गर्नु नपर्ने जनाएको छ।
बिहीबार सिडिसीकी निर्देशक डा. रोसेल वालेन्स्कीले ह्वाइट हाउसमा गरिएको कोभिड(१९ ब्रिफिङमा यस्तो बताएकी हुन्। ुयदि तपाईले पूर्ण रूपमा खोप लगाउनुभएको छ भने तपाईले महामारीअघि जस्तो गर्नुहुन्थ्यो। त्यस्तै गर्न सक्नुहुन्छ, निर्देशक वालेन्स्कीले भनेकी छन्।
तीन वटा अध्ययनका उदाहरण प्रस्तुत गर्दै वालेन्स्कीले यस्तो बताएकी हुन्। इजरायल र अमेरिकाका दुई उदाहरण उनले प्रस्तुत गरेकी थिइन। पूर्ण रूपमा भ्याक्सिन लगाएकाले अब मास्क थन्काउन सक्ने वालेन्स्कीको भनाइ थियो।
अमेरिकाका वरिष्ठ सरुवा रोग विशेषज्ञ एन्थोनी फाउचीले पनि पूर्णरूपमा कोभिडविरुद्धको भ्याक्सिन लगाएकाहरु घरबाहिर निस्कँदा मास्क लगाउनु नपर्ने बताएका छन्। अमेरिकाको एलर्जी तथा संक्रामक रोग राष्ट्रिय प्रतिष्ठानका निर्देशक रहेका फाउचीले एकदमै ठेलमठेल भएको स्थानमा बाहेक पूर्णरूपमा भ्याक्सिन लगाएकाहरुले मास्क लगाउनु नपर्ने बताएका हुन्।

‘हामी यो अवस्थासम्म आइपुग्न सफल भएका छौं। यदि तपाईले पूर्णरूपमा भ्याक्सिन लगाउनुभएको छ भने तपाईले घरबाहिर मास्क लगाउनु पर्दैन,’ फाउचीले भनेका छन्।
हालसम्म अमेरिकामा पूर्णरूपमा भ्याक्सिन लगाएकाहरु ११७ मिलियनभन्दा धेरै छन्। अमेरिकामा १८ वर्षमाथिको जनसंख्याको ५८ प्रतिशतभन्दा धेरैले भ्याक्सिन लगाइसकेका छन्।
कोरोनाविरुद्धको महामारी चर्किरहेको नेपालजस्तो मुलुकका लागि भने सीडीसीले ट्राभल एड्भाइजरी जारी गर्दै पूर्णरूपमा भ्याक्सिन लगाएकाहरुलाई समेत मास्क लगाउन, सामाजिक दुरी कायम गर्न, भीडभाडमा नजान भनिएको डेली मेलले समाचार लखेको छ ।

