केपी ओली नै पुनः प्रधानमन्त्री बन्ने निश्चित

प्रधानमन्त्री केपी शर्मा ओली नै पुनः प्रधानमन्त्री नियुक्त हुने निश्चित भएको छ । राष्ट्रपति बिद्यादेवी भण्डारीले बहुमतको सरकार गठनका लागि दिनुभएको समयअगावै बिपक्षी कांग्रेस–माओवादी गठबन्धनले वैकल्पिक सरकार गठन संभव नभएको भन्दै वाकओभर दिएपछि प्रधानमन्त्री ओली नै पुनः प्रधानमन्त्री बन्नुहुने निश्चित भएको हो ।

माधव नेपाल नेतृत्वको असन्तुष्ट पक्षसँग क्याप्टेन रामेश्वर थापाको बुढानिलकण्ठस्थित निवासमा भएको वार्तामा नै सामूहिक राजीनामाको बिहीबारको समय गुज्रेपछि संविधानको धारा ७६ (२) अन्तर्गत शेरबहादुर देउवा वा अन्य कसैको नेतृत्वमा राष्ट्रपति विद्यादेवी भण्डारीले तोकेको समयसीमाभित्र सरकार गठनको दाबी पेश गर्ने सम्भावना नरहेको संविधान तथा संसदीय मामिलाका जानकारहरुले बताएका छन्।

‘अब माधव नेपाल पक्षले सभामुख समक्ष राजीनामा बुझाए पनि त्यो भोलिबाट मात्र लागू हुनेछ। आज राति ९ बजे अर्थात राष्ट्रपति तोकेको समयसीमासम्म प्रतिनिधिसभाको सदस्य संख्या २७१ नै रहने र त्यसको न्यूनतम ५१ प्रतिशत अथवा न्यूनतम १३६ को समर्थन देउवालाई प्राप्त हुने छैन,’ संसद सचिवालयका पूर्व महासचिव सूर्यकिरण गुरुङले बताए।

राति ९ बजे राष्ट्रपतिले दिएको म्याद समाप्त हुनेबित्तिकै सबभन्दा ठूलो दलको नेताका रुपमा केपी ओलीलाई धारा ७६ (३) अन्तर्गत कुनै पनि समय शपथ गराउने मार्ग प्रसस्त भएको पनि जानकारहरु बताउँछन्।