कोरोना भाइरसको संक्रमण देखिएपछि सरकारले टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताललाई कोरोना अस्पताल बनाएको छ । सरकारले दिएको निर्देशनलाई डाक्टरहरुले पालना पनि गरिरहेका छन् । तर सरकार उनीहरुको मनोबल बढाउने भन्दा पनि त्रसित बनाएर कामबाट भड्काउने प्रयत्न गरिरहेको देखिएको छ ।
शनिबार मात्र एक संक्रमित निको भएर घर फर्किइन् भने एक संक्रमित उपचाररत छन् । कोरानाको आशंकामा अधिकांश बिरामी दैनिक रुपमा त्यहीँ पुग्छन्, अस्पतालहरु पनि टेकुमै रिफर गरिरहेका छन् ।
देशको सबैभन्दा बढी चाप पनि टेकु अस्पतालमैं छ । स्वास्थ्यकर्मीहरु फ्रन्टलाइनमा बसेर जीवनको पर्वाह नगरी खटिइरहेका छन् । अत्यन्त थोरै संख्यामा रहेको पीपीई र एन ९५ मास्क लगाएर २४ घण्टे ड्युटी गरिरहेका छन्। उनीहरुमाथि घर परिवारको दबाब निकै ठूलो छ ।
त्यसका बाबजुद टेकु अस्पतालका स्वास्थ्यकर्मीहरु कोरोनाविरुद्ध अग्र मोर्चामा खटिइरहेका छन् । उनीहरुकै तलव काटिएको छ । काममा खटिएकाहरुलाई प्रोत्साहन र स्यावासी दिनुको साटो सरकारले डाक्टर शेरबहादुर पुनलाई भने स्पष्टीकरण सोधेर देशभरका स्वास्थ्यकर्मीलाई आतंकित बनाएको छ।
अस्पतालका क्लिनिकल रिसर्च यूनिटका संयोजकसमेत रहेका पुनलाई सञ्चार माध्यममा कोरोनाबारे व्यक्त धारणालाई लिएर स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले लिखित स्पष्टीकरण सोधिएको हो । मन्त्रालयले उनलाई जगेडा राख्न खोजिरहेको छ ।
मन्त्रालयका विज्ञ सल्लाहकार डा. खेम कार्कीका अनुसार टेलिफोनबाट बोलाउँदा नआएपछि पत्र काटेको बताए । उनले भनेः मन्त्रालयले आफ्नो विधि र प्रक्रियामा रहेर काम गर्न पनि नपाउने ?
डा. पुनले भने केही दिनयता मन्त्रालयमा बोलाए पनि केका लागि हो भन्ने थाहा नपाएको बताउँछन् । ‘केही दिनयता अस्पतालको प्रशासनबाट मन्त्रालयमा कुरा गर्न बोलाएको छ भन्ने जानकारी आएको थियो तर जान पाएको छैन’, उनले भने ।
डाक्टरमाथि दुई तिहाईको डण्डा
डिसेम्बर महिनाको अन्त्यमा चीनको वुहानबाट सुरु भएको कोरोना भाइरसले इटली हुँदै स्पेनमा फैलियो । त्यसपछि युरोपली मुलुकहरुमा पनि कोरोनाको महामारी फैलियो । नेपालमा पनि माघ १० मा पहिलो संक्रमित भेटिए।
तर त्यसपछि दुई महिना संक्रमण देखिएन । यो पूर्व तयारीका लागि नेपालले पाएको समय थियो । तर त्यसअनुसार सरकारले काम गर्न सकेन । कोरोनाको जोखिम, सरकारले गर्नुपर्ने पूर्वतयारी लगायतका विषयमा सञ्चार माध्यमहरुमा निरन्तर खबर आइरहे । त्यसमा कही न कही डा.पुन पनि जोडिन्थे ।
हाइटीमा नेपाली सेनामाथि झाडापखाला लगाएको आरोप लाग्दा खण्डन गरेका डा. पुन सरुवा रोग विशेषज्ञ हुन् । साथै टेकु अस्पतालको क्लिनिकल रिसर्च यूनिटका संयोजक भएकाले सञ्चार माध्यमहरुले उनलाई पनि सोध्थे । उनले पनि आफूले जानेको विषय सहज रुपमा सञ्चारकर्मीहरुसँग बताउने गर्थे ।
त्यही कारण उनी मन्त्रालयको तारो बने । डा. पुन मात्र होइन, सरकारी अस्पतालमा कार्यरत चिकित्सकहरुको सञ्चार माध्यममा नाम आयो कि मन्त्रालयले कोरोनासँग सम्बन्धित धारणा नराख्न निर्देशन दिने गरेको पाइएको छ ।
त्यही कारणले अस्पताल प्रशासन र डाक्टरहरु सामान्य जानकारी दिन हच्चिन थालेका थिए । डा. पुन स्वयंले पनि सञ्चार माध्यममा धारणा दिन इन्कार गर्न थालेका थिए ।
तर संक्रमण बढ्दै जाँदा अलमल पनि बढेपछि उनले विज्ञको हिसाबले धारणा राख्न थाले । ‘मैले प्राविधिक कुरा मात्रै बोल्ने गरेको छु’ डा.पुन भन्छन् विज्ञको नाताले आफूले जानेको जानकारी दिँदा कारवाहीमा परिन्छ भने के लाग्छर ?
आफूले कसरी परीक्षण गर्दा राम्रो नतिजा आउँछ, वैज्ञानिक आधार कस्तो हुन्छ मात्रै भनेको भन्दै उनले भने, मैले कहिल्यै पनि सरकारको विरोध गरेको छैन ।
इपिडियमिलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्वप्रमुख डा. बाबुराम मरासिनी कोरोना भाइरसका विषयमा जनतालाई चिकित्सकले नै पर्याप्त जानकारी दिनुपर्ने बताउँछन् ।
मरासिनी महामारी, रोग, ओषधि जस्ता कुरामा जनताले डाक्टरकै भनाइमा विश्वास गर्ने बताउँछन् । मन्त्रालयले आफ्नो कमजोरी र असक्षमता लुकाउन कसैलाई बलीको बोको बनाउन नहुने उनको सुझाव छ ।
कोरोनाका विषयमा नबोलेका हुनाले नै समस्या आएको हो, मरासिनी भन्छन्, यस्तो महामारीका बेला कोरोनाको विषयमा डाक्टर नबोले को बोल्ने त ?