एमालेमा माधव नेपाल पक्षका पाँच जना सांसदले शुक्रबार दिउँसोसम्म अध्यक्ष ओलीले सोधेको प्रष्टिकण बुझाएका छैनन्।
प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार बसेको एमाले महाधिवेशन आयोजक कमिटीको बैठकमा ब्रिफिङ गर्दै अध्यक्ष ओलीले पाँचजनाले स्पष्टीकरण नबुझाएको बताएका हुन्।
स्पष्टीकरण नबुझाउनेमा सांसदहरु योगेश भट्टराई, रामकुमारी झाँक्री, मेटमणी चौधरी, निरा जैरी र दिपक भट्ट रहेका छन्।
बैठकमा अध्यक्ष ओलीले अरु सबैको स्पष्टीकरण तुलनात्मक रुपमा ‘सफ्ट’ आएको ब्रिफिङ गरेका थिए। स्पष्टीकरणको भाषाशैली हेर्दा एउटै प्रकृतिको रहेको बताएका थिए। जसमध्ये सांसद गणेश पहाडी र हिरा केसीले संस्थापन पक्षमा लाग्ने प्रतिवद्धता जनाएको ओलीले बताए।
ओलीका अनुसार जयकुमार राई, सोम पाण्डे र कल्याणी खड्काले सुझावसहित जवाफ दिएका छन्।
‘फ्लोर क्रस’ गर्ने कर्णालीका चारसहित पाँच जना र संघीय संसदका २७ जनालाई स्पष्टीकरण सोधिएको थियो।
शुक्रबारको बैठकले कर्णालीका प्रकाश ज्वाला, अमरबहादुर थापा, नन्दसिंह बुढा र कुर्मराज शाहीलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेको छ। उनीहरुको सांसद पदसमेत खारेज गर्ने गरी कारबाही गरिएको हो।
कर्णालीकै देवी ओलीलाई भने फेरि स्पष्टीकरण सोध्ने निर्णय भएको छ।











