मास्क नलाउनेलाई जरिवाना, होटल–रेष्टुरेन्ट सञ्चालनको समयसीमा तोकियो

सरकारले कोभिड–१९ को दोस्रो लहरको जोखिम कम गर्न नयाँ स्वास्थ्य मापदण्ड जारी गरेको सरकारका प्रवक्ता एवं संचार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले बताउनुभयो । नयाँ मापदण्डमा शिक्षण संस्था र भीडभाड हुने थलो बन्द गर्नेदेखि रेष्टुरेन्ट र सार्वजनिक यातायातमा जनस्वास्थ्यका मापदण्डमा कडाइ गर्नेसम्मका निर्णय भएको छ । मन्त्री गुरुङले कोभिडको संक्रमण रोकथामका लागि मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै ती मापदण्डलाई पालना नगर्नेलाई संक्रामक रोग ऐन २०२० अनुसार कारवाही गरिने बताउनुभयो ।

सरकारले होटल तथा रेष्टुरेन्टलाई बिहान ८ बजेदेखि बेलुका ८ बजेसम्म सञ्चालन अनुमति दिएको छ । होटलमा बसेर खान नपाइने र डेलिभरी सेवा अनिवार्य गर्नुपर्ने मापदण्ड ल्याएको हो । त्यस्तै सार्वजनिक यातायातमा मास्क नलगाउने यात्रुलाई चढ्न नदिने र दैनिक सवारी साधनलाई निसंक्रमित तुल्याउनुपर्ने निर्णय पनि गरिएको छ । मास्क नलगाएका यात्रुलाई १० रुपैयाँ लिएर मास्क उपलब्ध गराउन पनि निर्देशन दिइएको छ । लामो दूरीको यातायातमा बीच बाटोमा यात्रु चढाउन नपाइने र यात्रुको विवरण अनिवार्य जिल्ला संकट व्यवस्थापन केन्द्रलाई अनिवार्य उपलब्ध गराउनुपर्ने भएको छ ।

भौतिकरुपमा उपस्थित भएर सभा, सम्मेलन र गोष्ठी गर्न नपाइने, सार्वजनिक स्थानमा २५ जनाभन्दा बढी भेला हुन नपाइने र सभा सम्मेलन भर्चुअल माध्यमबाट गर्ने मापदण्ड भएपनि सुरक्षा निकायको आन्तरिक भेला भने स्वास्थ्य मापदण्ड अपनाएर गर्न सकिने जनाइएको छ । मेला महोत्सव, जात्रा पर्व, पास्नी व्रतवन्ध, मलामी, अनुष्ठान क्रियाकलाप संचालन गर्दा २५ जनाभन्दा बढी भेला हुन नपाइने । सो भन्दा बढी भेला हुनै पर्ने बाध्यता भए डीसीसीएमसीको अनुमति लिनुपर्ने निर्णय भएको छ ।