जसपाले ओली नेतृत्वको सरकारलाई समर्थन गर्ने

एमाले अध्यक्ष केपी ओली नेतृत्वको सरकारमा जसपा सहभागी हुने विषयमा भइरहेको छलफल थप सकारात्मक रुपमा अघि बढेको छ।

बिहीबार बिहान प्रधानमन्त्री केपी ओली र जसपा अध्यक्ष महन्थ ठाकुरबीच भएको कुराकानी र दुई पटक बसेको कार्यदलको बैठक सकारात्मक रुपमा अघि बढेको नेताहरुले जनाएका छन्।

ओली र ठाकुरबीच कुराकानी भए लगत्तै कार्यदलको पनि बैठक बसेर जसपाको माग सम्बोधनका लागि अहिलेसम्म भएका प्रयासबारे समीक्षा भएको थियो।

जसपाका तर्फबाट कार्यदलमा रहेका नेता लक्ष्मणलाल कार्णले नेतृत्व तह र कार्यदलबीच भएको छलफल निक्कै सकारात्मक भएको र एक दुई दिनमै निष्कर्ष निस्कने जानकारी दिए।

उनले देश सञ्चारसँग भने, ‘आज दुईपटक बसेको कार्यदलको बैठकमा हाम्रा माग सम्बोधन गर्न सरकारले गरेका प्रयासबारे समीक्षा भयो। सरकारले राम्रोसँग काम अघि बढाएको हामीले पायौँ।’

त्यस्तै एमालेका तर्फबाट कार्यदलमा रहेका एक सदस्यले पनि जसपाको माग सम्बोधन गर्न सरकार प्रतिबद्ध रहेको र वार्ता सकारात्मक रुपमा अघि बढेको बताए।

नेकपाको एकतालाई सर्वोच्चले बदर गरेपछि ओलीले माओवादी केन्द्रको समर्थन विनै जसपालाई विश्वासमा लिएर सरकार टिकाउने प्रयास गरिरहेका छन्।

माओवादी केन्द्रले ओलीको विकल्पमा कांग्रेसलाई सरकारका नेतृत्व गर्न आग्रह गरे पनि बहुमत नपुग्ने डरले कांग्रेस अघि बढ्न सकेको छैन।

भावी सत्ता सहकार्यका लागि एमाले र कांग्रेस–माओवादीसँग समानान्तर रुपले छलफल गरिरहेको जसपाले ओलीलाई नै समर्थन गर्ने बिहीबारको बैठकपछि लगभग निश्चित भएको छ।

२७५ सदस्यीय प्रतिनिधिसभामा सरकार गठनका लागि १३८ मत चाहिन्छ। एमाले एक्लैको संसदमा १२१ सांसद रहेको अवस्थामा ३२ सांसद रहेको जसपाले समर्थन गरेको खण्डमा सजिलै बहुमत पुग्ने अवस्था छ।

तर ओली नेतृत्वको सरकारलाई समथर्न गर्ने विषयमा जसपाभित्र मतभेद कायमै छ। नेताहरु उपेन्द्र यादव र बाबुराम भट्टराई ओलीलाई कुनै हातलमा समथर्न गर्न नहुने पक्षमा छन्।