नामका वामपन्थी, कामका दक्षिणपन्थी, कब्जा गर्ने भन्दा भन्दै किला काँटा फुत्कियो: प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले प्रतिगमन नगरेको दाबी गरेका छन्।

बुधबार विभिन्न आन्दोलनमा योगदान पुर्‍याउने व्यक्तिलाई सम्मान गर्ने कार्यक्रममा ओलीले केही व्यक्तिको सत्तामा पुग्ने प्रयास विफल भएपछि प्रतिगमन भयो भन्दै हल्ला चलाएको आरोप लगाएका हुन्।

आफू प्रधानमन्त्री हुन संविधानमाथि कुनै असर नपरेको, जनताको अधिकार नखोसिएको र लोकतान्त्रिक मूल्य मान्यतामा कुनै असर नपरेको ओलीको जिकिर छ।

उनले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपालप्रति लक्षित गर्दै उनीहरुले ‘प्रतिगमन’ भन्ने कुरा नै नबुझेको आक्षेप लगाए।

ओलीले भने, ‘एकथरी मान्छे आफू प्रधानमन्त्री हुन नपाएपछि प्रतिगमन भयो भनिरहेका छन्। उनीहरुले प्रतिगमन नै बुझेको रहेनछ। अहिले संविधान खोसिएको छैन, जनताको अधिकार खोसिएको छ र? लोकतान्त्रिक मूल्य मान्यतामा असर भयो र? लुटेर पारामा सरकारमा पुग्न नपाएपछि प्रतिगमन भयो भनेका मात्रै हुन्।’

ओलीले दाहाल–नेपालले प्रणालीलाई ध्वस्त पार्न लागे पनि आफूले बचाएको उल्लेख गरे।

‘आफूले ध्वस्त पार्न खोज्ने, नसकेपछि प्रतिगमन भन्ने। नामका वामपन्थी, कामका दक्षिणपन्थी, कब्जा गर्ने भन्दा भन्दै किला काँटा सबै फुत्कियो,’ ओलीले अगाडि भने, ‘दुई तिहाइको आफ्नो बहुहत हुँदाहुँदै शेरबहादुर जी कहाँ प्रधानमन्त्री बनिदेऊ भनेर जाने?’

उनले दाहालले अझै पनि जनतालाई धोका दिएको आरोप लगाए।

‘जनतालाई ढाँट्ने? अझै जनसाले साथ दिन्छन् भन्ने सोचेका छन्?,’ प्रधानमन्त्रीले ओलीले इतिहासलाई सरकारले नबिर्सिने प्रतिबद्धता जनाए।