भारतका मकैबारी ,खेत तथा डुंगामार्फत नेपाल छिर्नेहरु रोकिएनन्

लकडाउनका बेला पनि पूर्वी नेपालमा भारतबाट मानिसहरु लुकिछिपी प्रवेश गर्दा कोरोना संक्रमणको जोखिम बढेको छ ।

कतिपयले भने स्थानीय तहलाई खबर गरेर उनीहरुकै सहयोगमा नेपाल आएका छन् भने कतिपय थाहा नदिई लुकिछिपी आएका छन् । सुनसरीको कोशी गाउँपालिकामा भारतबाट आएका ६ जनालाई नियन्त्रणमा लिई मदरसामा बनाइएको क्वारेन्टाइनमा राखिएको छ । त्यसैगरी पश्चिम कुशाहास्थित सप्तकोशी नदीबाट डुंगामार्फत नेपाल आउने क्रममा ११ जनामध्ये ७ जनालाई नियन्त्रणमा लिएर क्वारेन्टाइनमा पठाइएको छ ।

सीमा क्षेत्रमा कडाइ गर्दागर्दै पनि चोरबाटो प्रयोग गरेर नेपाल प्रवेश गर्ने क्रम राक्न नसकिएको सीमा क्षेत्रका स्थानीय तहका जनप्रतिनिधिहरु बताउँछन् । स्थानीय तहमा रहेका सुरक्षाकर्मीले मात्रै सिमानाको रेखदेख गर्न नसकेपछि कतिपय ठाउँमा स्वयंसेवकका रुपमा युवाहरु परिचालन गरिएको छ ।

मोरङको धनपालथान गाउँपालिकाले सिमानाबाट घुसपैठ हुनेलाई रोक्नका लागि ३० जना स्वयंसेवक युवा परिचालन गरेको छ । स्वयंसेवक युवाले लाठी लिएर सीमा क्षेत्रमा गल्ती गर्ने गरेका छन् ।

मुख्य नाकामा सुरक्षा चेक जाँचमा कडाइ गरिए पनि मकैबारी तथा खेतबाट समेत भारतमा रहेका नेपालीहरु प्रवेश गरेका छन् ।

सुनसरीको हरिनगर गाउँपालिकाका अध्यक्ष गफार अन्सारी भारतको बिहार राज्य पुरै लकडाउन भए पनि त्यहाँबाट लुकिछिपी नेपाल आउनेलाई रोक्न गाह्रो भएको बताउँछन् ।

भारतबाट आउनेको तथ्यांक राख्ने र उनीहरुलाई क्वारेन्टाइनमा राख्ने प्रयास गरिरहेको भएपनि भारतबाट आएकाहरु लुक्ने गरेकाले फेला पार्न कठिन भएको धनपालथान गाँउपालिकाकी उपाध्यक्ष नसिमा बानुले बताइन् ।

सुनसरीको कोसी गाँउपालिकाको २० किलोमिटर क्षेत्र भारतसँग सिमाना जोडिएको छ । यहाँबाट भारत प्रवेश गर्ने ६ वटा नाका छ । ती नाकामा सुरक्षाकर्मी तैनाथ गरिएको छ ।

लकडाउनका बेला पनि भारतबाट नेपालीहरु फर्किरहेका गाउँपालिका अध्यक्ष ऐउव अन्सारी बताँउछन् । नेपाल प्रवेश गरेकालाई राख्न दुई वटा मदरसामा क्वारेन्टाइन बनाइएको छ । विदेशबाट आएकाहरुको तथ्यांक संकलन गरिएको गाउँपालिकाको भनाइ छ । तर भारतबाट आएकाहरु लुक्ने गरेका छन् ।

सुनसरीकै हरिनगर गाउँपालिकाको हरिनगरमा घुर्ना घुस्की र बासमतिया भुटाह मुख्य नाका भए पनि ८ किलोमिटर खुल्ला सीमा भएकाले लुकीछिपी आउने क्रम जारी छ ।