अध्यक्ष प्रचण्डले भने: माधव-झलनाथले सके एमाले कब्जा गर्नुहुन्छ, नसके विद्रोह गरेर निस्किनुहुन्छ

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माधव नेपाल र झलनाथ खनालहरुले एमालेभित्र विद्रोह गर्ने बताएका छन्। बुटवलमा अगुवा कार्यकर्तामाझ बोल्दै प्रचण्डले माधव नेपाल र झलनाथ खनालसहितका नेता कार्यकर्ताहरु एमालेमै फर्किएको देखेर निराश नहुन आग्रह गरे।

‘माधव नेपाल र झलनाथ खनालहरु सल्लाहमै एमालेमा जानुभएको छ, उहाँहरु त्यहाँ बसेर केपी ओलीको निरंकुशता र गणतन्त्र विरोधी प्रवृत्तिलाई निस्तेज पार्नका लागि निरन्तर लड्नुहुनेछ, सकेसम्म उहाँहरुले एमाले कब्जा गर्नुहुनेछ, सक्नुभएन भने ठूलो विद्रोह गरेर ठूलो संख्यामा आउनुहुनेछ,’ उनले भने, ‘त्यसपछि हामी र उहाँहरुबीचमा पुन: संगठनात्मक एकता भएर अघि बढ्ने हो, साथीहरु धैर्य गर्नुहोला, एमालेमै फर्किएका साथीहरुलाई माओवादीमा ल्याउनभन्दा उतै लाग्न र उतै विद्रोह गर्न सहयोग गर्नुहोला, यसो गर्दा उहाँहरुलाई पनि सजिलो हुनेछ।’

उनले एमाले प्रवेश गरेका माओवादीलाई पनि फर्काउने प्रयास नगर्न सुझाव दिए।

‘कतिपय साथीहरुले अरु कुरा त मिलिसकेको छ, एकपटक तपाइँले भेटेर आउनुपर्‍यो भनिदिनुस् भन्नुहुन्छ,’ पार्टीमा नेताहरुले गर्ने आग्रहबारे उनले भने, ‘उहाँहरु मनैदेखि आउनुहुन्छ भने ठीक छ होइन पद र लोभले आउने हो भने उतै जान दिनुस्, हामीलाई लोभीपापीहरु चाहिएको छैन, जनयुद्धदेखिको बलिदान, त्याग गरेका व्यक्तिहरु अहिले लोभ र लाभ हेरेर अन्यत्र जाँदैनन्, उनीहरुलाई पार्टीमा संरक्षण गर्नुस्, अघि बढाउनुस् भन्ने गरेको छु।’

रामबहादुर थापा बादल र टोपबहादुर रायमाझीबारे टिप्पणी गर्दै उनले मन्त्री पदकै लोभमा जनयुद्धदेखिको त्याग र बलिदानीको अवमूल्यन गरेको भन्दै आलोचना गरे।

‘मन्त्री खानकै लागि निन्याउरो मुख लगाएर निरंकुशता स्वीकार गरेको देख्छु,’ उनले नेता कार्यकर्तालाई भने, ‘बिचरा ती साथीहरु देख्दा टिठ लाग्छ, लोभ लालचकै कारण त्यहाँ छन्, त्यस्ता लोभीलाई पार्टीमा फर्काउन कोशिस नगर्नुस्।’