आइतबार पुनःस्थापित प्रतिनिधिसभाको पहिलो बैठक बस्यो। प्रतिनिधिसभाको बैठक बस्ने भएपछि संसद भवन नयाँ बानेश्वर परिसरमा बिहानैदेखि चहलपहल सुरु भएको थियो।
दिउँसो दाहाल–नेपाल समूहले आधिकारिक नेकपा आफूहरु रहेको, प्रचण्डलाई दलको नेतामा निर्वाचित गरेको र प्रमुख सचेतकमा देव गुरुङ यथावत रहेको जानकारी संसद सचिवालयमा गरायो।
अपराह्न ४ः०० बजे सुरु हुने भनिएको प्रतिनिधिसभाको बैठक एक घण्टाभन्दा पनि ढिलो गरी सुरु भयो। बैठक ढिलो सुरु हुने भएपछि प्रधानमन्त्री केपी शर्मा ओली प्रतिनिधिसभा बैठक सुरु हुनुअघि नै संसद भवनबाट बाहिरिए। तर पहिलो दिनको बैठकमै सत्तारुढ दलको एउटा पक्षको बहिस्कार र विपक्षीको नाराबाजीको दृश्य देखियो ।
बैठक सुरु भएपछि कार्यसूचीमा अध्यादेश पेश गर्ने कुरा राखेका भन्दै दाहाल–नेपाल पक्षले आपत्ति जनायो। अध्यादेशबाट सरकार चलाउने कुरालाई स्वीकार गर्न नसकिने भन्दै दाहाल–नेपाल पक्ष बैठक छाडेर बाहिरिएको थियो।
दाहाल–नेपाल समूह बाहिरएपछि कार्यसूची अनुसार अध्यादेश पेश गर्न कानुन मन्त्री लीला श्रेष्ठलाई रोष्टममा जान सभामुख अग्नि सापकोटाले अनुमति दिए। ‘सरकारको स्वइच्छाचारी चल्दैन’, ‘संवैधानिक अध्यादेश फिर्ता गर’, ‘अध्यादेशले देश चलाउन पाइँदैन’ जस्ता नारा लगाउँदै कांग्रेस सांसदहरु रोष्टम घेराउमा उत्रिँदा जनता समाजवादी पार्टी (जसपा) का सांसदहरुले पनि साथ दिए ।











