बालुवा पेलेर तेल निस्किनु र केपी ओली सुध्रिनु उस्तै: माधव नेपाल

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहका अध्यक्ष माधवकुमार नेपालले बालुवा पेलेर तेल निस्किनु र केपी ओली सुध्रिनु उस्तै भएको टिप्पणी गरेका छन्।

शनिबार काठमाडौँमा आयोजित नेकपा प्रचण्ड–माधव समूह निकट शिक्षकहरुको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले वामदेव गौतम अहिले पनि केपी ओलीलाई सुधार्ने कोशिस गरिरहेको बताए।

कुनैबेला स्थायी कमिटी बैठकमा ४० मिनेट बोलेर केपी ओलीको राजीनामा सबैभन्दा पहिला गौतमले नै मागेको उल्लेख गर्दै अहिले फेरि ओलीलाई सुधार्न कोशिस गरिरहेको उनको भनाइ छ।

May be an image of 4 people, including Tom Prasad Kafle, people standing, people sitting and indoor

उनले भने, ‘केपी ओली खराब मान्छे हुन् भनेर स्थायी कमिटीको बैठकमा भाषण गर्नुभएको छ वामदेवले। ४० मिनेट भाषण गर्नुभयो केपी ओली जस्तो रद्दि मान्छे धर्तिमा कोही पनि छैन भनेर। अब अहिले पनि उहाँ फेरि कोशिस गर्दै हुनुहुन्छ, केपीलाई सुधार्न। उहाँलाई मैले भनेको छु, यो बालुवा पेलेर तेल निस्किदैन कोशिस गर्नुहोस।’

नेपालले अब केपी ओलीसँग एकताको कुनै सम्भावना नभएको पनि स्पष्ट पारे। बरु ओली प्रवृतिको विरुद्धको आन्दोलनमा सहभागि भएकाहरुबीच सहकार्य गरेर अगाडि बढ्ने बताए।

उनले भने, ‘केपी ओलीसँगको एकताको कुनै सम्भावना छैन। कुनै भ्रममा नपर्नुस् । केपी ओलीका मानिसहरुको आँखामा बाम लगाएर निकालेको आँशुको कुनै अर्थ छैन। ख्याल गर्नुहोला। बाम लगाएर आँशु निकाल्छन् र भित्र कोठामा गएर मुसुमुसु हाँस्छन्। यिनलाई मुर्ख बनाएर पठाइयो भन्छन्। तपाईंहरु यस्ता कुराको भ्रममा नपर्नुस्।’

अहिले प्रतिनिधि सभा पुनःस्थापना भएपनि पुरै लडाई जित्न बाँकी रहेको पनि अध्यक्ष नेपालले बताए। उनले भने, ‘एउटा लडाई जित्यौँ, सिङ्गो लडाई जित्न बाँकी छ। एउटा लडाईं जितेका छौँ। केपी ओलीलाई प्रधानमन्त्री पदबाट नहटाएसम्म लडाईं गर्नुछ।’

केपी ओलीलाई पूर्वएमालेको कुनै माया नभएको पनि अध्यक्ष नेपालले बताए। ओलीले अहिले मदन भण्डारी फाउण्डेसनको गुट चलाएको आरोपसमेत नेपालले लगाए।

बालुवाटारमा बैठक हुँदा उपस्थित नहुने ओली अहिले फुर्तिका साथ देशभर दौडिरहेको नेपालको भनाइ छ। यसबाट पार्टीप्रति ओलीको इमानदारिता थिएन भन्ने स्पष्ट भएको पनि नेपालले बताए।

केपी ओलीलाई विदा गरेजस्तै ओली प्रवृतिलाई पनि सबैले त्याग्नुपर्ने उनले बताए।