पूर्व प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एउटै पार्टीमा नरहे पनि डा. बाबुराम भट्टराई र आफू मुद्दाका हिसाबले एउटै ठाउँमा रहेको बताएका छन्।
शनिबार पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद् अध्यक्ष डा. भट्टराईको पुस्तक ‘गुमनाम आमाहरुको कथा’ विमोचन कार्यक्रममा बोल्दै प्रचण्डले यस्तो बताएका हुन्।
उनले भने, ‘अहिले बाबुराम जी र म एउटै पार्टीमा त छैनौँ। तर मुद्दाको हिसाबले हामी फेरि एउटै मोर्चामा छौँ।’
इतिहासको आफ्नो कर्मको कारणले आफूहरुलाई अलग हुन नदिने उनले टिप्पणी गरे।
उनले भने, ‘इतिहासको आफ्नो कर्मको कारणले हामी अलग हुन खोज्दा पनि चुम्बकले तानेजस्तो हाम्रा आफ्ना कर्मले हामीलाई नजिक ल्याइ नै राख्छ। हामीलाई अलग हुन दिँदैन। ती हजारौँ सहिदले हामीलाई अलग हुन दिँदैनन्। हजारौँ घाइते र अपांगले हामीलाई अलग हुन दिन्नन्। ती हजारौँ बेपत्ता हाम्रा योद्धाहरुले पनि हामीलाई अलग हुन दिन्नन्।’
‘गुमनाम आमाहरुको कथा’ पढेपछि हिजोका स्मरण ताजा भएको उनले बताए।
उनले भने, ‘गुमनाम आमाहरुको कथा’ भित्र रहेका रचनाहरुलाई सरसर्ती नियाल्दा हिजोका सबै स्मरणहरु, अनुभव, अनुभूतिहरु ताजा भएर आएको महसुस गरेको छु।’